सीताराम मन्दिर गैँडाकोटमा मंसिर २५ गतेदेखी महायज्ञ हुने 

२०८० मङ्सिर २१ बिहीबार १६:२१:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट–६, शिवनगर नारायणी तटस्थित सीताराम मन्दिरमा सप्तदिवशीय श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ । सीता विवाहपञ्चमीका अवसरमा यहि मंसिर २५ गतेदेखी पौष १ गतेसम्म सप्तदिवशीय श्रीमद्भागवत ज्ञान महायज्ञ हुन लागेको हो । 

सीताराम मन्दिर तथा रामघाट क्षेत्र विकास समितिको आयोजनमा हुन लागेको महायज्ञको तयारी तिव्र पारिएको सीताराम मन्दिर तथा रामघाट क्षेत्र विकास समितिका अध्यक्ष एवं महायज्ञका संयोजक थानिश्वर भुषालले जानकारी दिनुभयो । ५० जनाको मूल समितिसँगै विभिन्न उप समिति गठन गरी तयारी चलिरहेको उहाँले बताउनुभयो । 

मन्दिर परिसरमा गौमुखे १०८ धारा, मन्दिरमा रहेको तीनकोठे क्रियापुत्रि भवनको टस हाल्ने लगायतका कार्यका लागि रकम संकलन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको मन्दिरका सचिव प्रेम सापकोटाले जानकारी दिनुभयो । 

महायज्ञमा व्यासाचार्य किशोरशरण सुवेदीले संगीतमय श्रीमद्भागवत कथावाचन र पण्डित कुशल पौडेलले पूजा, पाठपरायण गराउने कोषाध्यक्ष तिलकप्रसाद कँडेलले जानकारी दिनुभयो । महायज्ञमा उपस्थित भई तन, मन र धनले सहयोग गरी पुण्य कमाउन हुन उहाँले आग्रह गर्नुभयो ।  

मन्दिरमा नेपालकै सबैभन्दा अग्लो (३६ फुट अग्लो) शिव लिङ्ग समेत रहेको छ ।