नवलपुर, चितवन क्षेत्रको हुस्सु क्रमिक रुपमा सुधार हुँदै जाने

२०८० मङ्सिर २१ बिहीबार १२:४७:०० मा प्रकाशित

गैँडाकोट । नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण मौसममा परिवर्तन आएको छ । नवलपुर, चितवन लगायतका तराई क्षेत्रका थोरै स्थानमा हुस्सु लागेको छ ।

बिहानको समयमा लागेको हुस्सु मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नवलपुर, चितवन लगायत पश्चिम तराईसँगै मध्य तराई र पूर्व तराईका क्षेत्रमा लागेको हुस्सु पनि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको जनाएको छ ।

गैँडाकोटमा बिहान तापक्रम १२ डिग्री सेल्सियससम्म पुगेको थियो । मध्यान्ह् २२ डिग्री सेल्सियस मापन गरिएको छ ।

बिहानभू-उपग्रहबाट लिइएको तस्विर : मौसम पूर्वानुमान महाशाखा

महाशाखाका अनुसार भोली शुक्रबार भने अधिकांश स्थानको मौसममा केही सुधार आउने छ । यस्तै शनिबार भने देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । तर, कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

एक किलोमिटर भन्दा कम पारदर्शिता हुँदा कुहिरो र एक देखि पाँच किलोमिटर सम्म पारदर्शिता हुँदा हुस्सु भनिन्छ ।

मौसम पूर्वानुमान महाशाखाले चिसोबाट बच्न चेतावनी समेत दिएको छ । चिसोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।