बिहे खर्च कटाएर विद्यालयमा छात्रवृत्ति

विजय एफएमकी पूर्व सहकर्मी लक्ष्मी पौडेल र माओवादी केन्द्रका युवा नेता तथा लेखक नारायण नेपालले आफ्नो विवाह खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
पौडेलले आफूले प्राथमिक शिक्षा अध्ययन गरेको जनता आधारभूत विद्यालय विहादी – ३ पर्वतमा र नेपालले आफ्ना बुबा स्वर्गीय ढुन्डिराज नेपालको पहलमा स्थापना भएको मालिका मावि बेलकोटगढी नगरपालिका – ६ देउराली नुवाकोटमा ५०–५० हजार बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए ।
पछिल्लो समय विवाह समारोहमा भोजभतेरका लागि लाखौँ रुपैयाँ खर्च गर्ने प्रचलन बढ्दै गएपनि शैक्षिक संस्थालाई सहयोग गर्ने मनसायले साधारण विहे गरि विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन । सबै नातागोता र आफन्तको बिचमा पौडेल र नेपालको जोडीले आफ्नो विवाहमा लाग्ने रकम पर्वत र नुवाकोटमा रहेको विद्यालयमा छात्रवृत्ति उपलब्ध गराउनका लागि अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए ।
उनीहरुको कदमको सहभागी सबैले प्रसंसा गरेका छन् । आफैंले अध्ययन गरेको विद्यालयमा अध्ययनरत विपन्न तथा दलित र असहाय बालबालिकालाई वार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराउनका लागि अक्षयकोष स्थापना गरिएको पौडेलले बताइन् । यता नेपालले देशको अर्थतन्त्र नकारात्म हुँदा युवाहरु सचेत हुनुपर्ने बताए ।