गैँडाकोटमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

गैँडाकोट । गैँडाकोट नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० आजबाट सुरु भएको छ । गैँडाकोट नगरपालिकाको आयोजनामा सुरु भएको खेलको व्यवस्थापन विजय सामुदायिक शिक्षा सदनले गरेको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित सुरु भएको छैटौँ गैँडाकोट नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा गैँडाकोट भित्र रहेका ३० वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको पहिलो दिन ३० वटा विद्यालयका विद्यार्थीले मार्च पास गरेका थिए ।
छात्रा कबड्डी खेलबाट सुरु गरिएको उद्घाटन खेलमा अमर इङ्गलिस बोर्डीङ स्कुलको छात्रा टिमलाई रत्नराज्य लक्ष्मी माविले पराजित गरेको थियो ।
पहिलो दिन छात्रा कवड्डी, छात्र, छात्राको भलिबल र १५ सय मिटर दौड, २ सय मिटर दौड र १ सय मिटर दौड लगायतका खेल भएको अफिसियल रहेको गैँडाकोट खेलकुद समितिका अध्यक्ष एवं गैँडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो । खेलकुदको कार्यक्रम विजय सामुदायिक शिक्षा सदनको खेल मैदान र क्षेत्रीय रङ्गशाला गैँडाकोटमा सञ्चालन भएका छन् ।
कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले विद्यार्थीलाई खेलसँगै पढाईलाई पनि अगाडी बढाउन सुझाव दिनुभएको छ । खेलले व्यक्तिको मात्र नभई नगर र देशकै चिनारीमा सहयोग गर्ने बताउँदै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभएको छ ।
त्यस्तै विजय सामुदायिक शिक्षा सदनका अध्यक्ष खेमराज सापकोटाले विद्यालयलाई विश्वास गरेर खेलको जिम्मा विजय सामुदायिक शिक्षा सदनलाई दिएकोमा नगरपालिकालाई धन्यवाद दिदै, खेलले व्यक्तिको सीप र क्षमता देखाउने अवसर यहि समय रहेकोले यसलाई भरपुर सदुपयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गैँडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख डा.बालकृष्ण चापागार्इं, जिल्ला खेलकुद समितिका अध्यक्ष सेतमान पुन, गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटा, नेपाल शिक्षक संघ नवलपुरका जिल्ला अध्यक्ष ईन्द्रराज भट्टराई, प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपेन्द्र केशरी न्यौपाने लगायतले खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुराउने बताउँदै यस्ता कार्यक्रम समय–समयमा हुनुपर्नेमा जोड दिनुभएको छ ।
व्यवस्थापकीय विद्यालय विजय सामुदायिक शिक्षा सदनका प्रधानध्यापक रेखा श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानध्यापक, शिक्षक, विद्यार्थी खेलकुद समितिका प्रतिनिधि लगायतको उपस्तिथि रहेको थियो ।
कार्यक्रमको सहजीकरण बिद्यालयका नेपाली बिषय प्रमुख रञ्जना लामिछानेले गर्नुभएको थियो । प्रतियोगिता २२ गतेसम्म चल्ने छ ।