गैँडाकोटमा मनाइयो महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवस

२०८० मङ्सिर १९ मंगलबार १६:४८:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटमा समिक्षात्मक कार्यक्रम सहित २०औं महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवस मनाइएको छ । 

‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास’ भन्ने मुल नारा सहित आज नगरका तीन स्थानमा २०औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो । अमरापुरी स्वास्थ्य चौकी, गैँडाकोट स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र ढोडेनीमा महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाको योगदान, भूमिका र गर्नुपर्ने कामका विषयमा समिक्षा गरी मनाइएको गैँडाकोट स्वास्थ्य शाखाका सिअनमि सीतादेवी शर्माले जानकारी दिनुभयो ।   

स्वस्थ नगर बनाउने अभियानमा महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाको भूमिका अहम् रहेको गैँडाकोट स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताउनुभयो । उहाँले नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न सचेतना मूलक कार्यक्रमहरु, राष्ट्रिय, अन्तर्राष्ट्रिय अभियानहरु र स्थानीय तहले जारी गरेका स्वास्थ्यसँग सम्बन्धित अभियानहरुलाई सफल बनाउन परिचालन गर्दै आएको र उहाँहरुको सक्रियता प्रंशसनीय रहेको बताउनुभयो । 

कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको अभियानका क्रममा महिला स्वास्थ्य स्वंयसेविकाहरुले गरेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा हुन सक्ने हिंसा न्यूनीकरण गर्न, मातृ तथा बाल मृत्युदरलाई शून्य बनाईराख्न उनीहरूको सक्रियता आवश्यक रहेको बताइएको थियो । 

गैँडाकोटका १८ वटा वडामा ४१ जना महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका रहेका छन् । गैँडाकोटका महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाको भूमिकाको सम्मान गर्दै नगरपालिकाले मासिक ३ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ भने ६० वर्ष उमेर पुगेपछि १ लाख उपलब्ध गराउने गरेको छ । त्यसबाहेक महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकालाई संघीय सरकारले सर्शतबाट मासिक १ हजार र प्रदेशबाट ५ सय दिने गरेको छ । पोशाक र कार्यक्रमका बखत यातायात खर्च समेत पाउने गरेका छन् ।