गैँडाकोटमा दिगो नदीजन्य वस्तु संरक्षण र उत्खनन् सम्बन्धि जनचेतना प्रदान

गैँडाकोट । गैँडाकोटमा दिगो नदीजन्य वस्तु संरक्षण र उत्खनन् सम्बन्धि जनचेतनामुलक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
सहमति संस्थाको प्रकृतिमा आधारित समाधान–ट्रिपल बेनिफिट परियोजना अन्तर्गत भएको कार्यक्रममा नवलपुरका प्रभावित क्षेत्रका स्थानीय, आदिबासी, सामुदायिक वन, मध्यवर्ती र कबुलियती वन एवं संरक्षणकर्मीहरुलाई सजग गराईएको हो । सोमबार गैँडाकोटमा भएको गोष्ठीमा कावासोतीका नगर प्रमुख विष्णुप्रसाद भुसाल, हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे लगायतको उपस्थिति रहेको थियो । नदीजन्य पदार्थ संकलनका कारण विभिन्न समस्या सिर्जित भएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका थिए । नदी उत्खनन् हुँदा प्रत्यक्ष असर प्रकृति र प्रभावित क्षेत्रका स्थानीयलाई पर्ने गरेको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन एकाई चितवनका प्रमुख श्यामबाबु लोप्चनले चुरे क्षेत्रमा नदीजन्य वस्तु उत्खनन्को अवस्था, नदीजन्य वस्तु उत्खननको कारण, असर र प्रभाव, कानुन तथा नीतिहरुबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत दिपकप्रसाद पण्डितले संरक्षणका लागि सामुदायिक वनको भूमिका बढाउनुपर्ने बताउनुभयो । भूगर्भविद् डा. प्रदिप पौडेलले नदीजन्य पदार्थको वितरण प्रवृति तथा सुरक्षित एवं दिगो उत्खनन् अभ्यासमा प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । सुनाखरी रिसर्च कन्सर्न प्रालिका कन्सल्ट्यान्ट शेर बहादुर श्रेष्ठले नदिजन्य पदार्थ उत्खनन् पश्चात संरक्षणका लागी गर्नुपर्ने कार्यहरु, अनुकुलन र विपद् न्यूनीकरणका उपाएहरुबारे चर्चा गर्दै सबैको सहयोगले मात्र प्रकृतिको संरक्षण गर्न सकिने बताउनुभयो ।
सहमतिका अध्यक्ष होमनाथ सुवेदीले संस्थाले अस्वभाविक रुपमा हुने उत्खनन् कार्यलाई रोक्न, रेखदेख गर्न समुदायलाई सचेत गराउँदै आएको बताएउनुभयो । गोष्ठिमा आइतबार चितवनका लक्षित समुदायलाई दिगो नदीजन्य वस्तु संरक्षण र उत्खनन् सम्बन्धि चेतना प्रदान गरिएको ‘प्रकृतिमा आधारित समाधान– टि.बि.पि. परियोजना’ का संयोजक खेमराज खनालले जानकारी दिनुभयो ।