विजय एफएम आवाजविहिन र सीमान्तकृत जनताका आवाज बन्ने ः अध्यक्ष सापकोटा

२०८० मङ्सिर १७ आइतबार १८:२७:०० मा प्रकाशित

गैँडाकोट । सामुदायिक रेडियो विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको आठौँ अधिवेशनबाट निर्वाचित नयाँ सञ्चालक समितिको पद तथा गोपनियताको सपथ ग्रहण गरेको छ । विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको कार्यक्रममा निर्वाचन समिति संयोजक केशवप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । 
सपथ ग्रहणपछि कार्यक्रममा बोल्दै नवनिर्वाचित सञ्चालक समितिका अध्यक्ष त्रिलोचन सापकोटाले विजय एफएम आवाजविहिन र सीमान्तकृत जनताका आवाज बन्ने बताउनुभयो ।

विजय एफएमका संस्थापक सचिव एवं निर्वाचन समिति संयोजक केशवप्रसाद सापकोटाले अहिलेको नेतृत्व जुझारु भएकाले केही फरक काम हुने विश्वास व्यक्त गर्नुभयो । 

निवर्तमान अध्यक्ष डा. भूमिराज चापागाईंले स्थानीय स्रोत र सहकार्य नै स्थानीय रेडियोको दीगोपनाको आधार भएको बताउनुभयो ।

पूर्व अध्यक्ष गोपिनाथ खरेलले समाज र सरोकारवाला, समस्या र  सम्भावनाका पक्ष लाई जोड्ने काम रेडियोले गर्ने भएकाले यसको संरक्षण आवश्यक भएको बताउनुभयो । 

प्रवर्धक संस्था विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले रेडियोले डिजिटल माध्यमलाई अझै सशक्त बनाउँदै अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा गैँडाकोट वडा नम्बर ८ का वडाध्यक्ष प्रेम सापकोटा,  विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्याय, विकू साकोसका उपाध्यक्ष कालिदास गौडेल, सचिव गोविन्द कँडेल, विजयश्री उपभोक्ता सहकारीका सचिव गोविन्द रिमाल लगायतको उपस्थिती रहेको थियो । निर्वाचन समिति सदस्य प्रेमप्रसाद सापकोटा ‘राजु’ ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो  भने कार्यक्रमको सहजिकरण निर्वाचन समिति सदस्य परमेश आचार्यले गर्नुभएको थियो । समाजमा सकारात्मक सञ्चार प्रवाहका लागि २०५७ सालमा स्थापना भएको सञ्चार सहकारीले वि.सं. २०६१ सालमा विजय एफएम र २०७२ सालमा विजय खबर पत्रिका प्रकाशन गरेको थियो ।