अस्वभाविक रुपमा हुने नदीजन्य पदार्थ संकलनप्रति चिन्ता  

२०८० मङ्सिर १७ आइतबार १७:५६:०० मा प्रकाशित

गैँडाकोट । नदीजन्य पदार्थ संकलनका कारण विभिन्न समस्या सिर्जित भएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । नदी उत्खनन् हुँदा प्रत्यक्ष असर प्रकृति र प्रभावित क्षेत्रका स्थानीयलाई पर्ने गरेको उनीहरुको भनाइ छ । गैँडाकोटमा आइतबार भएको गोष्ठीमा चितवनका जलाधार क्षेत्रका स्थानीय, आदिबासी, वन एवं संरक्षणकर्मीहरुले दिगो रुपमा हुने गरी गर्न आग्रह गरेका हुन् । 

कार्यक्रममा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन एकाई चितवनका प्रमुख श्यामबाबु लोप्चनले चुरे क्षेत्र संरक्षणमा सबै नजुटे स्थित भयावह हुने बताउनुभयो । चुरे क्षेत्रमा नदीजन्य वस्तु उत्खनन्को अवस्था, नदीजन्य वस्तु उत्खननको कारण, असर र प्रभाव, कानुन तथा नीतिहरुबारे कार्यपत्र प्रस्तुत गर्दै उहाँले स्थानीय, प्रदेश र संघीय सरकारको राजस्व चुहावट, भू–क्षय तथा नदी कटानमा वृद्धि, तल्लो तटीय क्षेत्रहरुमा बाढी पहिरोको जोखिममा वृद्धि, तल्लो तटीय क्षेत्रमा सतहमुनिको पानीको अभाव हुने गरेको बताउनुभयो । त्यस्तै नदीको फैलावाटमा वृद्धि भइ मानव वस्ती र खेती योग्य जमिनमा क्षति, भौतिक संरचनाहरुमा क्षति, जल परिस्थिकीय प्रणालीमा आधारित जैविक विविधतामा नकरात्मक असर, नदीजन्य पदार्थ संकलनमा संलग्न कर्मचारी तथा व्यवसायीहरुलाई मुद्दा मामिला समेत पर्ने गरेको बताउनुभयो । 

सहमति संस्थाको प्रकृतिमा आधारित समाधान–ट्रिपल बेनिफिट परियोजना अन्तर्गत गैँडाकोटमा भएको दिगो नदीजन्य वस्तु संरक्षण र उत्खनन् सम्बन्धि जनचेतनामुलक कार्यशाला गोष्ठीमा डिभिजन वन कार्यालय, चितवनका वन अधिकृत बालकृष्ण खनालले नदिजन्य वस्तुको दिगो उत्खनन् र रोकथामको लागि सामुदायिक वनको भूमीका अह्म हुने बताउनुभयो । नदी उत्खनन् दिगो रुपमा असर नहुने गरी भयो भने भावी पुस्ताले पनि प्रयोग गर्न पाउने बताउनुभयो । भूगर्भविद् डा. प्रदिप पौडेलले नदीजन्य पदार्थको वितरण प्रवृति तथा सुरक्षित एवं दिगो उत्खनन् अभ्यासमा प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । सुनाखरी रिसर्च कन्सर्न प्रालिका कन्सल्ट्यान्ट शेर बहादुर श्रेष्ठले नदिजन्य पदार्थ उत्खनन् पश्चात संरक्षणका लागी गर्नुपर्ने कार्यहरु, अनुकुलन र विपद् न्यूनीकरणका उपाएहरुबारे चर्चा गर्दै सबैको सहयोगले मात्र प्रकृतिको संरक्षण गर्न सकिने बताउनुभयो । 

सहमतिका अध्यक्ष होमनाथ सुवेदीले संस्थाले अस्वभाविक रुपमा हुने उत्खनन् कार्यलाई रोक्न, रेखदेख गर्न समुदायलाई सचेत गराउँदै आएको बताउनुभयो । उत्खनन् सम्बन्धि भएका नीति, नियम, ऐन अनुसार भयो भने क्षति कम हुने उहाँको भनाइ थियो । समुदायमा जिम्मेवार व्यक्तिका रुपमा रहेका स्थानीय, आदिबासी, वन एवं संरक्षणकर्मीहरुलाई सजग गराउँदै आएको उहाँले बताउनुभयो । 

गोष्ठिमा आइतबार चितवन र सोमबार नवलपुर क्षेत्रका लक्षित समुदायलाई दिगो नदीजन्य वस्तु संरक्षण र उत्खनन् सम्बन्धि चेतना प्रदान गर्नेगरी कार्यक्रम गरिएको ‘प्रकृतिमा आधारित समाधान– टि.बि.पि. परियोजना’ का संयोजक खेमराज खनालले जानकारी दिनुभयो । 

सहमतिले वन तथा भू–संरक्षण विभाग र राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागसँगको समन्वयमा डब्लु डब्लु एफ नेपालको सहयोगमा समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा त्रिपक्षीय लाभ हुनेगरी नवलपुरको गिन्द्री र चितवनको खगेरी उपजलाधार क्षेत्रमा संरक्षणमुखी कार्य गर्दै आएको छ ।