विजय एफएमको अध्यक्षमा त्रिलोचन सापकोटा चयन

२०८० मङ्सिर १६ शनिबार १९:३५:०० मा प्रकाशित

 

गैंडाकोट । विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको अध्यक्षमा त्रिलोचन सापकोटा चयन हुनुभएको छ । 

विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको २३औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनले त्रिलोचन सापकोटाको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गिरिराज लम्साल, सचिवमा भानुभक्त रिमाल, कोषाध्यक्षमा विष्णुमाया पन्थी, सह–सचिवमा नर्मदा पाण्डे चयन हुनुभएको निर्वाचन समिति संयोजक केशवप्रसाद सापकोटा जानकारी दिनुभयो । यस्तै सदस्यहरुमा डा. भूमिराज चापागाईं, शान्ति भुषाल आचार्य, गोकुल भण्डारी, कमला रेग्मी पौडेल, यदुनाथ सापकोटा र टंकनाथ चापागाईं रहनुभएको छ । यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा बद्रीनाथ लम्साल, सदस्यहरुमा ज्ञानु सापकोटा र टेकनारायण सुवेदी रहनुभएको छ । 

निर्वाचन उप समिति संयोजकमा केशवप्रसाद सापकोटा, सदस्यहरुमा प्रेमप्रसाद सापकोटा ‘राजु’ र परमेश आचार्य रहनुभएको थियो । नयाँ कार्यसमितिको सपथ ग्रहण एवं पद हस्तान्तरण कार्यक्रम आइतबार हुने छ । 
 
यसअघि भएको साधारण सभामा बोल्दै प्रमुख अतिथि, गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले विजय एफएम र विजय खबर सञ्चार माध्यमका रुपमा देशमा नै उदाहरणीय बनेको बताउनुभयो । सञ्चारका यी दुवै माध्यमबाट सबै नागरिकमा सजिलै, सर्वसुलभ रुपमा सूचनाको पहुँच पुगेको उहाँको भनाई थियो । नगरप्रमुख अधिकारीले विजय एफएमको आफू पनि नियमित श्रोता भएको बताउँदै असल, राम्रा कामलाई प्रोत्साहन गर्न र सत्य तथ्य सूचना अहिले जस्तै आगामी दिनमा पनि प्रस्तुत गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष डा.भूमिराज चापागाईंले यस क्षेत्रकै व्यवस्थित एवं प्रभावकारी सञ्चार माध्यमका रुपमा विजय एफएम र विजय खबर अगाडी रहेको बताउनुभयो । साथै यी दुवै सञ्चार संस्थाले जिम्मेवार पत्रकारिता मार्फत नागरिकका आवश्यकता बमोजिम स्थानीय समस्या, सरोकार र सवालमा आधारित रहेर काम गरिरहेको बताउनुभयो । साथै उहाँले आपत विपतमा रेडियोले सबैभन्दा बढी प्रभावकारी भूमिका खेलेको समेत बताउनुभयो । 

संस्थाका सचिव गिरिराज लम्सालले प्रगती प्रतिवेदन प्रस्तुत गर्दै १ वर्षको अवधिमा विजय एफएमले समुदायका १५ हजार व्यक्तिको आवाज रेडियोका माध्यमबाट प्रसारण गरेको बताउनुभयो । यस संस्थाका अर्को माध्यम विजय खबर र विजय एफएमको अनलाईन संस्करणबाट पनि यी आवाजहरुलाई प्रसारण तथा लिपिवद्ध गरी प्रकाशन गरेकोे जानकारी दिनुभयो । उहाँले सामुदायिक सञ्चार माध्यमका रुपमा संस्थाले स्थानीय सवाल, सरोकार समस्या र प्राथमिकताहरुलाई मुख्य विषयबस्तुका रुपमा ग्रहण गर्दै जिम्मेवार पत्रकारिता गरिरहेको बताउनुभयो । 

कोषाध्यक्ष भानुभक्त रिमालले विजय एफएम र विजय खबरका सामग्रीप्रति स्रोताको विश्वासले यसलाई अगाडी बढ्न प्रेरित गरेको बताउनुभयो । श्रोता र पाठकको जीवनमा पारेको प्रभाव र विश्वास नै संस्थाको पूँजी भएको उहाँको भनाई थियो । उहाँले संस्थाले समूदायको विश्वास जित्न सक्नु नै ठूलो उपलब्धी रहेको बताउनुभयो । साथै समुदायका हरेक क्षेत्र र हरेक समस्यालाई जस्ताको त्यस्तै प्रस्तुत गर्न सफल रहेको बताउँदै कठिन परिस्थीतिमा सारथी बनेर अगाडी आइरहेको बताउनुभयो । 

लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका लेखा समिति सदस्य बद्री लम्सालले विभिन्न समस्या आइपरेपनि संस्थाले उल्लेख्य प्रगती गरेको बताउनुभयो । साथै उहाँले नयाँ प्लेटफर्म मार्फत श्रव्यदृश्य सामग्रीसँगै व्यवस्थित बनेर अगाडी आउन सुझाव दिनुभएको छ । 

गैँडाकोट नगरपालिकाका पूर्व नगर उपप्रमुख विष्णुकुमारी कँडेलले समाजमा लुकेका छिपेका कुरा उजागरसँगै सत्य तथ्य सूचनाको भरपर्दो स्रोत नै विजय एफएम भएको बताउनुभयो । उहाँले आफुले महिला दिदिबहिनीलाई समसामयीक, न्यायिक र अन्य धेरै जानकारी प्राप्त गर्न भान्सामा नै विजय एफएम बजाएर काम गर्न सुझाव दिने गरेको समेत बताउनुभयो । सूचना र जानकारी ज्ञान हासिल गर्न विजय एफएम प्रभावकारी माध्यम बन्दै आएको उहाँको भनाई छ । 

कार्यक्रममा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष एवम् वर्तमान सल्लाहकार संयोजक खेमराज सापकोटाले समाजमा सकारात्मक सोचको विकास गर्न सक्नु नै विजय एफएमको पूँजी भएको बताउनुभयो । उहाँले आपत विपतमा रेडियो सशक्त बनेर नागरिकका लागि उभिएका क्षण स्मरण गर्दै पछि परेका नागरिकको आवाज कसैले नसुन्ने तर रेडियोले समेटेकोमा खुसी व्यक्त गर्नुभयो । समाजलाई जगाउन, जोड्न रेडियोको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । 

विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सङ्कटको समयमा सञ्चारमध्यमले खेल्ने भूमिका महत्त्वपूर्ण रहेको र विजय एफएमले सो भूमिका निर्वाह सफलतापूर्वक गरेको बताउनुभयो । उहाँले चौथो अंगको भूमिका सहि तरिकाले निर्वाह गरेमा समाज र देशलाई टेवा पुग्ने बताउनुभयो । 

विकू वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमप्रसाद सापकोटा ‘राजु’ले न्यायका लागि आवाज उठाउन विजय एफएम र विजय खबरले भूमिका खेलेको बताउनुभयो । उहाँले कुनै दिदि, भाउजु अथवा जो कोहिले अन्याय सहेर नभएर आवाज उठाउन विजय एफएम रोज्ने गरेको समुदायमा देखेका कुरा बताउनुभयो । साथै उहाँले विकू प्रवद्र्धकिय संस्था पनि भएकाले आगामि दिनमा सहकार्य र सहयोगका लागि विजय एफएमसँगै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका संस्थापक सचिव एवं विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडका अध्यक्ष केशवप्रसाद सापकोटाले सरकारले सञ्चार गृहलाई बचाउनुपर्ने बताउनुभयो । समाजमा अफ्ठ्यारो परिस्थिति र अवस्था आउँदा रेडियोले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले अहिलेको समयमा जलवायु परिवर्तन र यसको प्रभावका विषयमा सञ्चारमाध्यमले आवाज उठाउनुपर्ने बताउनुभयो । साथै उहाँले जलवायु परिवर्तनले खोला नाला सुक्दै जाने, तापक्रममा असर गर्ने लगायतका कुराले अब आउने पुस्तालाई असर गर्ने भन्दै सजग हुनपर्ने बताउनुभयो । 

विजय फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाले एकदमै दुःखको बेला रेडियोको उपयोगिता थाहा हुने बताउनुभयो । उहाँले रेडियोले नसुनिएका र नभनिएका आवाज बाहिर ल्याउन मद्दत गरेको बताउनुभयो । साथै विजय एफएम सूचना र सहायता चाहिने ठाउँमा आवाज बनेर पुगेको र युगौँ सम्म बाचिँरहने पनि बताउनुभयो । 

विजय कन्सल्टिङका अध्यक्ष लक्ष्मी गौतमले विजय एफएमको भूमिका र यसले समाजलाई पारेको सकारात्मक प्रभाव नै समाजको उल्लेखनीय कार्य भएको बताउनुभयो । 

महिला अधिकारकर्मी मिना खरेलले सामाजिक, सञ्चार, वित्तीय, शिक्षा, सूचना प्रवाहको क्षेत्रमा विजय एफएमले गर्व गर्न लायक काम गरेको महशुस गरेको बताउनुभयो । साथै विजय एफएमले समुदायलाई पु¥याएको योगदान र प्रवाह गरेको चेतना नै सम्पत्ति भन्नु सराहनिय रहेको विचार व्यक्त गर्नुभयो । 

सम्मानित संस्थाको प्रतिनिधित्व गर्दै कालिका मन्दिर कालिका आश्रमका अध्यक्ष पिताम्बर सापकोटाले विजय एफएमले सम्मानित गरेको धन्यबाद दिदैँ अहिले गरिरहेको कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । समाजमा उदाहरणीय बनेको यो संस्था अझै प्रगति गर्दै जाओस् भन्ने शुभकामना दिनुभएको छ । 

साधारण सभाको अवसरमा धर्मिक क्षेत्रको विकास, उन्नयन र धार्मिक पर्यटकीय क्षेत्रको विकासमा टेवा पु¥याउन विजय एफएमसँग सहकार्य गर्ने धार्मिक संस्थाहरु धार्मिक सेवा समिति मौलाकालिका मन्दिर, कालिका मन्दिर कालिका आश्रम, हनुमान मन्दिर, हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रमलाई सम्मान गरेको छ । यस्तै उत्कृष्ट सेयर सदस्यमा अग्निधर आचार्य ‘कृष्ण’, वर्ष उत्कृष्ट विज्ञापनदातामा कालिका प्रिण्टिङ एण्ड प्याकेजिङलाई सम्मान गरेको छ । कर्मचारीतर्फ उत्कृष्ट कर्मचारीमा प्राबिधिक हरि सुबेदी सम्मानित हुनुभएको छ ।    
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष गोपीनाथ खरेल, पूर्व अध्यक्ष इन्द्रराज ज्योति पौडेल, संस्थाका पूर्व उपाध्यक्ष एवं समाजसेवी सिद्धकुमार श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति रहेको थियो । 

कार्यक्रमको सहजिकरण संस्थाका व्यवस्थापक श्रीधर उपाध्यायले गर्नुभएको थियो ।

‘सत्य तथ्य सूचनाको सञ्चार, जनसशक्तीकरणको मूल आधार’ भन्ने भावलाई आत्मसात् गर्दै विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाइमा २०५७ सालमा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाको स्थापना भएको हो । संस्थाले सामुदायिक रेडियो विजय एफएम र विजय खबर पत्रिका सञ्चालन गरेको छ । स्थापनाकालदेखि नै सञ्चारका यी दुवै माध्यमबाट समाजमा सुशासन, विकास, सकारात्मक सोच, सकारात्मक सोचका लागि जागरण र समाजमा सूचनाको पहुँच स्थापित गर्नका लागि निरन्तर सूचना प्रवाह गर्दै आइरहेको छ ।