गैँडाकोटको पाते ढिँडो २५ वर्षमा, भरतपुरमा पहिलो शाखा शुभारम्भ

भरतपुर । गैँडाकोटको पाते ढिँडोले भरतपुरमा पहिलो शाखा सञ्चालनमा ल्याएको छ। २५ वर्षअघि नवलपरासीको गैँडाकोट–९ थुम्सीबाट सेवा सुरू गरेको पाते ढिँडोले स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा पातेले उपभोक्ताको मागअनुसार पहिलो शाखा सञ्चालनमा ल्याएको हो । बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वपश्चिम राजमार्गको थुम्सीस्थित नारायणी नदी किनारमा रहेको पाते ढिंडो होटल एण्ड रेष्टुरेण्ट पाते ढिंडो एण्ड बिच रिसोर्ट प्रालिको रूपमा आएको होटलका अध्यक्ष वृखलाल गुरूङले जानकारी दिनुभयो ।
पहिलोपटक पोखरास्थित लेकाली चुल्होको प्रवद्र्धन तथा सहकार्यमा भरतपुरमा पनि शाखा बिस्तार गरिएको उहाँले बताउनुभयो। भरतपुर–१०, शिखरचोकमा खुलेको शाखालाई यही मङ्सिर १७ गते अङ्ग्रेजी नयाँ बर्षको अवसरमा ग्राण्ड ओपनिङ शुभारम्भ गर्ने तयारी भइरहेको गुरूङले बताउनुभयो ।
नयाँ शाखा सञ्चालनका लागि करिब २ करोड रूपैयाँ लगानी भएको उहाँले बताउनुभयो । बजारमा पाते ढिँडोको नाममा धेरै होटल खुल्न थालेको विषयमा पनि ध्यानाकर्षण भएको बताउँदै उहाँले भन्नुभयोे, हाल पाते ढिंडो होटल एण्ड रेष्टुरेण्टको शाखा भन्दै हामीसँग मिल्ने गरी उस्तै नाम राखेर विभिन्न स्थानमा होटल खोली आमग्राहक महानुभावहरूमा भ्रम सिर्जना गर्ने कार्य भइरहेको छ। त्यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ। र, हामीले पहिलोपटक शाखा खोलेको जानकारी गराउँछौँ।
उपभोक्ताहरूको माग र चाहनाअनुसार अन्य स्थानमा पनि बिस्तारै शाखा खोल्दै लैजाने योजनासहित काम गरिरहेको उनको भनाइ छ। ढिँडोसँगै धराने बङ्गुुरको सेकुवा, चिकेन सेकुवा, मटन सेकुवा, बफ सेकुवा र स्वादिष्ट फास्टफुड पस्कने उनले बताए। साथै विभिन्न संघसंस्था, व्यावसायिक प्रतिष्ठानका लागि आवश्यक सभा, सेमिनार, गोष्ठी गर्न, बर्थ–डे, एनिभर्सरीको उत्सव मनाउनका लागि १ सयजना सम्मको क्षमता भएको सुविधा सम्पन्न वातानुकुलीत (एसी) सेमिनार हल र १५ जनासम्मका लागि ६ वटा प्राइभेट वातानुकुलीत (एसी) डाइनिङ हलकोसमेत सुविधा थप गरिएको उहाँको भनाइ छ।