वडा ९ मा छैन् विद्यालय, अर्को वडा जान आर्थिक भार

२०८० मङ्सिर १२ मंगलबार १२:२७:०० मा प्रकाशित

गैँडाकोट । पूर्व पश्चिम राजमार्गसँगै जोडिएको गैँडाकोट ९ वडामा नै विद्यालय नभएपछि यहाँका बालबालिका अध्ययनका लागि अर्को वडामा जान बाध्य छन् । नजिकमा भए पनि खासै फरक पर्ने थिएन । साढे २ किलोमिटर बढी हिँड्नु पर्ने बाध्यता छ । 

गैँडाकोट नगरपालिका वडा नम्बर ९ को थुम्सी ईलाकाका विपन्न घरपरिवारका बालबालिकालाई विद्यालय जान आउन समस्या भएको अभिभावकले गुनासो गर्दै आएका छन् । दैनिक टाढासम्म जानुपर्दा आर्थिक भार समेत पर्दै आएको उनिहरुको भनाई छ । 

नारायणी माध्यमिक विद्यालयसँगै, जनक नमुना मावि र कालिका नमुना माविसम्म वडाका विद्यार्थी पुग्ने गरेका छन् । ठूला कक्षामा पढ्ने विद्यार्थी हिँडेरै, साइकल र अटो तथा म्याजिकमा जाने गरे पनि स–साना बालबालिकालाई कष्ट हुने गरेको छ । 

नजिकको विद्यालय गैँडाकोट ७ मा नारायणी माध्यमिक विद्यालय छ । प्राय विद्यार्थी सोही विद्यालय पुग्छन् । यहाँ विद्यार्थी ओसार–पोसारका लागि विद्यालयको आफ्नै यातायातको व्यवस्था छैन । विद्यालयले भाडामा म्याजिकको व्यवस्था भने गरेको छ । सो वापत यातायात भाडा भने विद्यार्थी स्वयम्ले तिर्ने गरेका छन् । विद्यालयले मासिक ५ सय सम्म लिने गरेको छ ।  

आन्तरिक स्रोत नभएपछि यातायात भाडा लिन विद्यालय बाध्य भएको नारायणी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वरीप्रसाद चापागाईंले बताउनुभयो । उहाँले भन्नुभयो, “हामिले अर्को वडा भनेर छुट्याएका छैनौ, विद्यार्थी ओसारपोसारका लागि म्याजिकको व्यवस्था गरेका छौँ, यातायात व्यवस्थापनका लागि चुनौती छ ।”  

विद्यालयको वार्षिकोत्सवमा नगर प्रमुख मदनभक्त अधिकारीले यातायातको व्यवस्था गर्ने आश्वासन दिएपछि म्याजिक चढ्ने अधिकांश विद्यार्थीका अभिभावकले यातायात वापतको भाडा दिएका छैनन् । जसका कारण म्याजिक सञ्चालनमा कठिनाई भएको विद्यालय प्रशासनको ठम्याई छ ।

गैँडाकोट ९ का वडा अध्यक्ष धामनाथ सापकोटाले वडामा विद्यालय नभएको कारण दैनिक पूर्व पश्चिम राजमार्गमा पैदल हिँड्नुपर्ने कारणबाट जोखिम भएको बताउनुभयो । उहाँले थुम्सी क्षेत्रका बालबालिकाहरुले अध्ययन गर्ने नजिकमा पर्ने वडा नं. ७ मा रहेको नारायणी माध्यमिक विद्यालयको आफ्नै स्कूल बस नभएका कारण बालबालिकाहरुलाई पठनपाठनमा समस्या भएको बताउनुभयो ।  

सो समस्या सामाधानका लागि उहाँले गैँडाकोट नगर कार्यपालिका बैठकमा आवाज उठाएपछि समस्या समाधानका लागि अध्ययन गर्न लागिएको छ । समस्या सामाधानका लागि सम्बन्धित सरोकारवाला पक्षहरुसँग छलफल तथा अध्ययन गरी राय सहित १५ दिन भित्र प्रतिवेदन पेश गर्न शिक्षा युवा तथा खेलकुद शाखालाई निर्देशन दिएको छ । 

वडा अध्यक्ष सापकोटाले कम्तिमा वडाका बालबालिकाका लागि यातायातको व्यवस्था गरिदिन माग गर्नुभएको छ । उहाँले भन्नुभयो, “थुम्सीबाट विद्यालयसम्म जान आउन समस्या छ, कम्तिमा दुई वटा म्याजिक मात्रै उपलब्ध गराइदिने हो भने राहत मिल्ने थियो ।” वडा अध्यक्ष सापकोटाले चुनावी प्रचारप्रसारका क्रममा स्कूल बसको ब्यवस्था गर्ने बताउनुभएको थियो । 

उहाँले वडामा नै विद्यालय सञ्चालका लागि आफूँले पहल गरिरहेको समेत बताउनुभयो । त्यस्का लागि जग्गा उपलब्ध हुन नसकेको उहाँको भनाई छ । उहाँले थप्नुभयो, “वडामा विद्यालय छैन, त्यस्का लागि पहल पनि भैरहेको छ । तर अहिले तत्काल बस व्यबस्था गर्न माग गरेको छु, शिक्षा शाखाले प्रतिवेदन दिएपछि हुने आशा छ ।”

वडाबाट करिब २ सय विद्यार्थी अन्य वडामा अध्ययनका लागि जाने गरेको प्रारम्भिक अनुमान छ । हाल थुम्सी क्षेत्रका विपन्न परिवारका ३०–३५ जना बालबालिका रहेका छन् ।