सरस्वती तिमिल्सिनाको “पाइला पाइलामा पाइला टेकेर” विमोचन

२०८० मङ्सिर ११ सोमबार २०:१९:०० मा प्रकाशित

गँैडाकोट । कवि सरस्वती तिमिल्सिनाको कविता संग्रह “पाइला पाइलामा पाइला टेकेर” को विमोचन, विमर्श तथा वाचन गरिएको छ । त्रिवेणी साहित्य  प्रतिष्ठानको आयोजनामा  नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन थापाले कविता संग्रहको विमोचन गर्दै सरस्वतीको कवि रूप देख्न पाउँदा खुसी लागेको बताउँदै शुभकामना दिए । उनले राजनीतिक यात्रामा उथलपुथल भए पनि साहित्यिक यात्रा सदैब अगाडि बढाउन आग्रह गरे ।  
कार्यक्रममा कविता संग्रहको विमर्श गर्दै कवि गोविन्दराज विनोदीले कविताले अनेक भावहरू निर्वहन गरेको बताए । समाज र देशको वर्तमानको शब्दचित्र जिवन्तरूपमा उतारिएका कविता उत्कृष्ट र पठनीय भएको बताए ।
कवि सरस्वती तिमिल्सिनाले  विद्यालयको कक्षाकोठा उभिएर कविता सुनाएको याद गर्दैगर्दा आज सँग्रह नै आउँदा खुसी भएको बताए । धेरै व्यक्तिको सहयोग, उत्प्रेरणा प्रदान गर्ने सबैमा आभार व्यक्त गरिन् । 
कवि डाक्टर नवराज लम्सालले कवितामा परम्परित कविता प्रवाह र आदर्शको सट्टा आज सरस्वती तिमिल्सिनाले समाजको जटिलता भागदौड मानवताको नयाँ स्वरूप र जीवनको बहुरूप माथी देखा परेको बहुकोण भेटेको बताए ।
कवि एवं साहित्यकार धनराज गिरी, शिव त्रिपाठी, पुरु लम्साल, मुक्तिनाथ घिमिरे, सुदीप चापागाईं, कवि तिमिल्सिनाकी आमा देवी तिमिल्सिना,  समालोचक सम्पादक शंकर तिवारी लगायतले कविता वाचन गर्दै साहित्यिक यात्राको सफलताको कामना गरेका थिए ।  
कविता संग्रहमा ५९ वटा कविता रहेका छन् । झरी परेपछि पहिलो कविता रहेको छ भने परिचित अनुहार पाँच अन्त्यको कविता रहेको छ ।  कार्यक्रम त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनालको अध्यक्षतामा भएको थियो । कविता संग्रहको प्रकाशन त्रिवेणी साहित्य प्रतिष्ठानबाट गरिएको हो । कार्यक्रमको सञ्चालन लेखराम सापकोटाले गरेका थिए ।