बौद्ध धर्मको सबैभन्दा पवित्र स्थान रामग्राममा उत्खनन् सुरु

२०८० मङ्सिर २ शनिबार १३:१८:०० मा प्रकाशित

परासी  — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७, उजैनीस्थित रामग्राम स्तुपमा उत्खनन् सुरु भएको छ । भगवान गौतम बुद्धको अष्टधातु रहेको स्तुपमा एक हप्तासम्म भू–भौतिक सर्वेक्षण (जियोफिजिक्स सर्भे) गरेर उत्खनन् सुरु गरिएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्वविद् हिमालकुमार उप्रेतीले बताए ।

सन् २०१८ मा गरिएको भू–भौतिक सर्वेक्षणका क्रममा रामग्राम स्तुप परिसरमा प्राचीन पोखरी र विहारको संरचना भेटिएको र त्यसको पुष्टिका लागि उत्खनन्को काम सुरु भएको हो ।

बेलायतको दुर्हाम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोषका विज्ञसहितको टोलीले उत्खनन् गरिरहेको छ । विगतमा देखिएका संरचनाको पूर्ण पहिचान गरी त्यसको सांस्कृतिक र ऐतिहासिक अवस्थाबारे उजागर गर्नु नै अहिलको सर्वेक्षणको प्रमुख उदेश्य रहेको पुरातत्व विभागले जनाएको छ ।

सन् २०१८ मा गरिएको सर्भेमा ठूलो विहार, पोखरीलगायतका बुद्धकालीन सम्पदा फेला परेपछि त्यसको वास्तविक अवस्था पत्ता लगाउन काम सुरु भएको हो । कात्तिक १५ गते देखि सुरु भएको सर्भे मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ ।

रामग्राम स्तुपको उत्खनन् गरेर यसको प्राचीन महत्त्वसँगै वैज्ञानिक तबरबाट पनि तथ्य प्रमाणित गर्न लागिएको हो । विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पनि उत्खखन् आवश्यक रहेको छ । रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले बौद्ध धर्मको सबैभन्दा पवित्र स्थान रामग्राम स्तुप भएकाले यसको बृहत्तर विकासमा लागि परेको बताए । कान्तिपुरबाट