परम्परा (लघुकथा)

२०८० कार्तिक २१ मंगलबार १३:१६:०० मा प्रकाशित

भूमिका गैरे, तिमिल्सिना 
गैंडाकोट –४, नवलपुर

कुनै गाउँ थियो, जहाँ मानव बस्ती पनि बाक्लै थिए । घरहरु पनि झुरुप्प, रमाइलो थियो । त्यस गाउँमा एउटा गौरी साहुँ खलकको धनाड्य परिवारको ठूलो घर थियो । अलि पर स– साना झुप्रा भएका खरले छाएका घरहरु थियो । त्यहाँ काम गर्ने गरिब मानिसहरु बस्थे । त्यस बस्तीका गरिब परिवारका मूली मानिसहरु त्यस साहुँको घरमा काम गर्न आउँथे । जग्गा जमिन पनि बिघौँ बिघा भएका साहुँ परिवारको त्यस गाउँमा ठूलै हैकम थियो । तिनीहरुले भनेका कुरा शिरउपर गरी सबैले गाउँलेले मान्थे ।

परबस्तीमा गरिब बखत बहादुर कार्की बस्थे । साहुँको घरमा दिनहुँजसो काम गर्न जान्थे । त्यहाँबाट आएको नगद, जिन्सीले घर चलाउने गर्थे । बखत बहादुरकी एकमात्र छोरी सीता थिइन् । उनी अत्यन्तै मिहिनेती, इमान्दार, स्पष्ट बोल्ने, व्यावहारिक, पढाइमा पनि अब्बल थिइन् । साहुँ परिवारका ६ भाइ मध्येका महिला श्यामजी साहुँ थिए । उनका दुई छोरा एक छोरी थिइन् । छोरीको नाम गीता थियो । गीता खासै व्यावहारिक पनि थिइनन् । भौतिक सुविधा पनि प्रशस्त पाएकी हुनाले दुः ख बुझेकी थिइनन् । हुन त बुझुन पनि कसरी ? घरभरि काम गर्ने मान्छे हुन्थे । पारिवारिक माहोल पनि त्यस्तै ! गीता र सीताको लगभग उमेर पनि एकै थियो । बखतबहादुरसँगै सीता पनि कहिले कसो साहुँको घरमा जान्थिन । सीता र गीता सँगै एकै कक्षामा अध्ययन गर्थे । उनीहरु बिचमा गहिरो मित्रता थियो । बखतबहादुर र उसकी जहानले बेला– बेलामा आफ्नी छोरीलाई गीतासँग सधैं सानो भएर बोल्नु, उहाँले भनेको कुरा सबै मान्नु, कहिल्यै मुख नफर्काउनु, भनेको काम सबै खुरुखुरु गर्नु भनि सम्झाउँथे । सीता पनि आफ्ना बाबा आमाले भने बमोजिम नै सबै गर्थिन् । कक्षामा पनि गीताले गर्न नभ्याएका गृहकार्य सबै गरी दिन्थिन् । भनेको पनि सबै मान्थिन । यसैगरी दिनहरु बित्दै थिए ।

उमेरअवस्था पनि एकै भएकाले उनीहरुको विवाह पनि सँगसँगै एउटै गाउँमा भयो । गीताको धनी घरमा नै विवाह हुन्छ भने सीताको निम्न वर्गीय परिवारमा हुन्छ । दुबैको घर माइत सँगसँगै भएकाले तिनीहरू बिच गहिरो मिलाप हुन्छ । यसैगरी समय बित्दै जान्थ्यो । सीता गीताको घरमा आउने जाने क्रम चलिरहन्थ्यो । सीताको व्यवहार, पारिवारिक मेल, उसको क्षमता, बोलीचाली, हाउभाउ, शैली लोभ लाग्दो हुन्छ । उनको त्यो व्यवहार सबैले मन पराउँछन् । उत्तिकै सम्मान पनि गर्छन् । त्यो देखेर गीतालाई भित्र भित्रै बडो जलन महसुस हुन्थ्यो । एक दिन सीताले गीतासँग सीपमूलक तालिम लिएर अब आफैँले व्यवसाय शुरु गर्ने कुरा गर्छिन् । त्यो सुनेर गीतालाई असह्य हुन्छ । “यस्तो सामान्य परिवारकी हाम्रै घरमा काम गरेर पढाएका उसका बाबु आमाले सबै कुरामा हामीहरुमा नै निर्भर रहने त्यस्तो परिवारमा हुर्केकी मान्छे हो । आज म जस्तो धनी खान्दानकी मान्छेलाई तल पारेकी हेर ! त ? कस्ती लाज नभएकी छि !” गीताले जलन कै कारणले आफ्नो रिस थाम्न नसकी भन्छे । “ए सीता ! ततँ सामान्य गरिब, कमैया परिवारकी मान्छे होस् तँलाई मैले जे भनेनि केही नबोली बस्नुपर्छ । तेरा बाबा आमाले पनि त त्यहीँ सिकाएका होलान् नि ?  हगी ! तैले मलाई कदापि जित्नु हँुदैन । हामी भनेका त धेरै पुराना, खान्दानी, हैकम चलाउने खान्दानका हौँ बुझिस् तैले ।” भन्छे । त्यो कठोर वचन सुन्दा सीताको मन छिया छिया हुन्छ ।

उसले कल्पना सम्म पनि गरेकी हुदिन, कि आफ्नै बालसखाको त्यो रुखो व्यवहारको ? त्यो सुन्दा उसलाई बडो नरमाइलो लाग्छ र मलिन स्वरमा भन्छे । “मैले के नै पो गरेकी छु र ? किन रिसाएकी ? मैले के बिगार गरेर त्यस्तो ?” सीताले यति मात्र के भन्न भ्याएकी थिइन् ? गीताले रिस थाम्न नसकी सबै घर माइती लिएर अझै दबाउन खोजिन । ठूलो स्वर गर्दै गीताले भन्छिन् । “किनबोलेकी ? सानो भनेको सानै हुन्छ । जति नै पढेनि । जति नै जान्ने बुझ्ने भए नि ! आफ्नो हैसियत कदापि नबिर्सनु,  बुभिस् तैले ? के पहिचान छ तिमीहरूको, हाम्रो अगाडि ? आखिरी ! गरिब, कमैया त पर्यौ ?” त्यो सुनेर सीता केही नबोली मौन बस्छिन् । पिडित हुँदै पिडाले भरिएको भारी मन लिएर घर फर्कन्छिन् ।

एकान्तमा बसेर सोच्छिन । आँफैले आफूलाई प्रश्न गर्छिन् । “के गलत गरे मैले ? थोरै मात्र आफ्नो विचार के राखेकी थिए ? मसँग यत्रो वर्षको सम्बन्ध नै तोड्ने गरी बोलिन् त ? आज ! आखिर ! किन ? आजसम्म मैले हजुर हजुर ¤ भनि जे भने नि ! हुन्छ– हुन्छ भनि टाउको हल्लाउँदै काम गरे तर आज के पाएँ ? चुपचाप लागेर केही नबोली बस्दा सम्म सबै ठिक ! आफ्नो बारेमा त केही बोल्नै नहुँने ? हामी सधैं अरुका लागि बाँच्नु पर्ने ? के गरिब भएकै कारण कसैले शरण दिएको हो त ? मेरो बाबालाई साहुँ खलकले यति कै पारिश्रमिक दिएको हो र ?  होइन्, पक्कै पनि होइन्, दिन रात नभनि दश नङग्रा खियाएपछि मात्र ज्याला दिएका हुन् । यत्तिकै पाले जस्तो गर्छन्त, यिनीहरुले ? के हामी परम्परागत शैलीमा सधैं गुलामी नै गर्ने हो त ? हाम्रो कुनै अस्तित्व छैन ? मेरा बाबा आमा के गरिबी कै कारण मौन बसेका हुन त ? यिनीहरु सधैं धनाड्य, ठूला, हैकम गर्ने, परम्परागत सोच, खान्दानी शैली सधैं रहि रहने हो त ? हामीले सधैं मान्नु पर्ने के छ, त्यस्तो  ? हँ ! आखिर ! किन ? बारम्बार आफैँले आफैंलाई प्रश्न गरि रहन्छिन र सोच्छिन् । “होइन अब होइन, हामीले नै यीनीहरुलाई कतै ठूला बनाएका त होइनौँ ?” “यदि हो भने अब यो चाकरीबाज र चाप्लुसीबाज बन्द गर्नुपर्छ । हाम्रो पनि त हक छ । के हामी मानिस होइनौ र ? के गरिब भएकै कारण हरेक कुराहरु सहनुपर्ने हो ? पक्कै पनि होइन । भन्ने सीतालाई लाग्छ ।”

अनि फेरी गहन भएर सोच्छिन् । “हामी सबै मानिस एक हौँ । यहाँ कुनै पनि किसिमको जातीय, वर्गीय, लिङ्गीय भेद हुनु हुँदैन । सबैको फरक– फरक क्षमता छ । सबैले एक अर्कोको भावनाको कदर गर्नुपर्छ । असमानताको जालो सबैले मिलेर हटाउनुपर्छ । परम्परावादी सोच त्याग्नुपर्छ । हामी परिवर्तन खोज्छौँ । सधैं अरुलाई मात्र परिवर्तन भै दिए हुन्थ्यो भन्ने सोच्छौँ तर अब स्वयम् आफूले आफ्नो विचारमा परिवर्तन गरेर हेरौँ त ? आहा ! विचारको परिवर्तन कति उत्तम हुनेछ ? एकदिन सबैमा सकारात्मक परिवर्तनको विजारोपण हुनेछ । अनि बल्ल विभेदको अन्त्य हुनेछ ।”