सरस्वती निकेतनको स्वागत, बधाई एवं विदाई कार्यक्रम

२०८० असोज ११ बिहीबार १८:४८:०० मा प्रकाशित


गैँडाकोट । सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालयले विद्यार्थीलाई स्वागत, बधाई एवं विदाई कार्यक्रम गरेको छ । आज नारायणी रिसोर्ट नारायणी नदी किनारमा भव्य समारोहको आयोजना गरी कक्षा ११ का विद्यार्थीलाई स्वागत र कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको हो । कार्यक्रममा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको थियो । 
कार्यक्रममा बोल्दै राष्ट्रिय परिक्षा बोर्ड बुटवल शाखाका प्रमुख रमाकान्त तिवारीले शिक्षासँगै विद्यार्थी जीवन महत्त्वपूर्ण भएको बताउनुभयो । साथै उहाँले विद्यार्थीलाई मिहिनेत र लगनका साथ अघि बढ्न सुझाव दिनुभयो । 
कार्यक्रममा गैँडाकोट २ का वडाध्यक्ष प्रकाश सापकोटाले स्थानीय सरकारले शिक्षा ऐन बनाएपनि राष्ट्रिय रुपमा नीति नबन्दा शिक्षामा आमुल परिवर्तन हुन नसकेको बताउनुभयो । साथै उहाँले विद्यार्थीलाई देशलाई माया गर्न र यहि सम्भावना खोज्न आग्रह गर्नुभयो । 


यस्तै विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष कमलापति शर्माले सरस्वतीले शिक्षामा फड्को मार्न सफल भएको बताउनुभयो । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिचन्द्र चालिसेले विद्यालयलाई सर्वोउत्कृष्ट बनाउन लागि परेको बताउनुभयो । साथै उहाँले विद्यालयले आइएसओ, आइएसए लगायत अन्तर्राष्ट्रिय मान्यता पाएको पनि बताउनुभयो । 
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भरतबाबु कँडेलले विद्यार्थीलाई परियोजना र व्यावहारिक शिक्षा दिदैँ समुदायमा अब्बल विद्यालयको रुपमा अघि बढेको र आगामी दिनमा पनि विद्यार्थी, शिक्षक र अभिभावकसँगै सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । 
कार्यक्रममा जनप्रतिनिधि, शैक्षिक व्यक्तित्व, शिक्षक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम संयोजक विद्यार्थी रिया क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
सो कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायनकला प्रस्तुत गरेका थिए साथै विद्यालयका भूपू विद्यार्थी एंव भल्गर रतन कार्कीको समेत प्रस्तुती रहेको थियो ।