स्वतन्त्र भूपू सैनिक सहकारीले १७.४३ प्रतिशत लाभांश वितरण गर्ने, संयुक्त साधारण सभा सम्पन्न

२०८० असोज ११ बिहीबार १७:०६:०० मा प्रकाशित

गैँडाकोट । स्वतन्त्र भूपू सैनिक सहकारीले १७.४३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं साधारण सभा, भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको १६औं साधारण सभा र भूतपूर्व सैनिक महिला समूहको १४औं साधारणसभामा सो जानकारी दिइएको हो ।  

गैंडाकोट २ स्थित द नारायणी पार्टी प्यालेसमा संयुक्तरुपमा भएको कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका सहकारी शाखा प्रमुख देवेन्द्र गौतमले भूपू सैनीक सहकारीको वित्तीय स्वच्छता राम्रो रहेको जनाउँदै नगरकै उत्कृष्ट सहकारीका रुपमा स्थापित भएको बताउनुभयो । देशमा पछिल्लो समय सहकारी बदनामी बनेको सन्दर्भमा उहाँले गैँडाकोटका सहकारी मजबुत रहेको र डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो । 

जिल्ला सैनिक बोर्ड भरतपुरका सेक्रेटरी सुब्दार मेजर हनरी क्याप्टेन जुद्धबहादुर गुरुङले पेन्सन वितरणमा सहकारीको भूमिका र भूपूको एकता उदाहरणीय रहेको बताउनुभयो । उहाँले गैँडाकोटमा भूपू लक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ । 

कार्यक्रममा स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भूपालसिंह छन्त्याल थापाले शुरुवाती ८ हजार ऋण लगानी गरेको संस्थाले अहिले ८० लाखसम्म दिने गरेको बताउँदै ३३ करोड बढी ऋण लगानीमा रहेको बताउनुभयो । मरोणापरान्त राहत २० हजार, सुत्केरी सदस्यलाई १ हजार, ८५ वर्षका बृद्ध सदस्यलाई मासिक ५ सय प्रदान गरिदै आएको बताउनुभयो । 

भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाका अध्यक्ष गुरबहादुर थापाले भूपू सैनिक, सेवारत सैनिक र तिनका घरका एकाध परिवारका सदस्यलाई एकतावद्ध गर्न सफल भएको बताउँदै संस्था दुख सुखको साथी रहेको बताउनुभयो । भूतपूर्व सैनिक महिला समूहकी अध्यक्ष गिता देवी क्षेत्रीले भूपू सैनिक, सेवारत सैनिक र तिनका परिवारका सदस्यलाई लगानी गरी आयआर्जनमा टेवा पु¥याउँदै आएको बताउनुभयो । 

कार्यक्रममा सहकारीतर्फको प्रगति प्रतिवेदन संस्थाका सचिव बेदबन्धु रेग्मी, आर्थिक प्रतिवेदन कोषाध्यक्ष तमबहादुर क्षेत्री, लेखा प्रतिवेदन सदस्य शेषकान्त रेग्मी, ऋण उप समितिको प्रतिवेदन संयोजक गोविन्दबहादुर क्षेत्री, शिक्षा उपसमितिको प्रतिवेदन संयोजक फूलुमाया पराजुलीले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै भूतपूर्व सैनिक जनकल्याणकारी संस्थातर्फको प्रगति प्रतिवेदन तर्कबहादुर थापा, आर्थिक प्रतिवेदन कोषाध्यक्ष बेतबहादुर रोकायाले प्रस्तुत गर्नुभएको थियो । भूतपूर्व सैनिक जनकल्याणकारी महिला समूहको प्रगति प्रतिवेदन सचिव संगिता अर्याल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष निशा पाटा मगरले प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष शोभा ढकालले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सदस्यका छोराछोरीलाई, महिला समूहलाई, भवन निर्माण उप समिति एवं विभिन्न विधामा सम्मान एवं पुरस्कृत गरिएको थियो ।  

सहकारीका उपाध्यक्ष रामभक्त लम्सालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत दुर्गाप्रसाद पौडेल (शिव) ले सहजिकरण गर्नुभएको थियो । कार्यक्रम स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भूपालसिंह छन्त्याल थापाको अध्यक्षतामा सम्पन्न भएको हो । 

२०६४ सालमा भूपु सैनिक, सेवारत सैनिक र तिनका परिवारका सदस्यबीच आपसी सहकार्य, मित्रता र समन्वयमा अनेकतामा एकता भन्ने भावनाबाट प्रेरित भई स्थापित संस्थाले सहकारी संस्थाको पर्वद्धन गरी सदस्य हितका कार्य गर्दै आएको छ । २०६५ सालदेखी मासिक एक सय रुपैयाँका दरले बचत गर्दै आएको संस्थाले २०६८ सालमा डिभिजन सहकारी कार्यालय नवलपरासीका सहकारी दर्ता गरेको थियो । यस संस्थाले नेपाल, भारत र ब्रिटिश सेनाका सेवारत तथा सेवा निवृत सैनिकहरु, उहाँहरुको नामबाट पेन्शन प्राप्त गर्ने महिलाहरु र परिवारको सदस्यहरुलाई सदस्यता प्रदान गर्दै आईरहेको छ । 

३७ करोड ५० लाख निक्षेप संकलन रहेको सहकारी संस्थाले ३३ करोड बढी लगानी गरेको छ । संस्थामा हाल २८ सय ५० सेयर सदस्य रहेका छन् ।