मौलाकाली केबलकार गेट अगाडी सुविधा सम्पन्न ‘द सान्भिक रेष्टुरेन्ट’ सञ्चालनमा 

२०८० असोज ११ बिहीबार १६:५६:०० मा प्रकाशित

गैँडाकोट । मौलाकाली केबलकारको गेट अगाडी सुविधा सम्पन्न ‘द सान्भिक रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ । 

रेष्टुरेन्टको आज गैँडाकोट १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले रिबन काटेर उद्घाटन गर्नुभयो । उहाँले प्रसिद धार्मिक स्थल मौलाकालिका मन्दिर आउने भक्तजनलाई खाना खाजामा सहज हुने बताउँदै गुणस्तरीय सेवा दिन आग्रह गर्नुभयो । मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघका सचिव कमल कँडेलले खाना बिना जीवन कल्पना पनि गर्न नसकिने बताउँदै होटल तथा रेष्टुरेन्टको सम्भावना अधिक रहेको बताउनुभयो । 

मौलाकालिका दर्शन गरेर फर्कने भक्तजनलाई टिपिकल नेपाली खाना, स्पेशल फापरको ढिँडो, लोकल कुखुरा तथा माछाका परिकार अर्डर अनुसारका खाना खाजा उपलब्ध गराउने हेतुले रेष्टुरेन्ट सञ्चालन गरिएको सञ्चालक सविता थापाले जानकारी दिनुभयो । करिब ३० लाखको लगानीमा एकैपटक ५० जना सम्मलाई खान मिल्ने गरी एसी सहितको रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।   

सञ्चालक लक्ष्मण क्षेत्री ‘सुमित’ले गैँडाकोट १ निवासमा नै ‘मिसन फुड प्रोडक्ट’ समेत सञ्चालन गर्दै आएको बताउँदै सो खाद्य सामग्रीलाई रेष्टुरेन्टमा प्रयोगमा ल्याइने बताउनुभयो । हिमाल, पहाड, तराईमा उत्पादन भएका विभिन्न प्रकारका खाद्य उत्पादनहरु प्रशोधन तथा प्याकेजिङ गरी बिक्रि बितरण गर्दै आएका छन् । ‘मिसन फुड प्रोडक्ट’ मा स्पेशल भुटेको मकै, गेडागुडी, लोकल दालहरु, फापर, कोदो मकैको पिठो साथै सिजनेवल आवश्यक खाद्य सामग्री प्याकेजिङ गर्ने गरेको छ । यहाँ अहिले घरका ३ जना सहित ८ जनाले रोजगारी समेत पाएका छन् । 

रेष्टुरेन्ट शुभारम्भ कार्यक्रममा मौलाकालिका समाज केन्द्रका अध्यक्ष गोविन्द रेग्मी, जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव शालिकराम आचार्य, समाजसेवी शालिकराम सापकोटा लगायतको उपस्थिति रहेको थियो ।