गैंडाकोटको स्वास्थ्य उपलब्धी, ‘आमा घर’ कार्यक्रम नविनतम प्रयास

गैँडाकोट । गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को प्रमुख स्वास्थ्य उपलब्धि, समस्या तथा समाधानहरु सार्वजनिक गरेको छ ।
सञ्चालन गरिएका कार्यक्रम मध्ये आमा घर कार्यक्रमलाई नविनतम प्रयासका रुपमा लिइएको गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख एवं जन स्वास्थ्य अधिकृत झलकराज पौडेलले जानकारी दिनुभयो । गैंडाकोट नगरपालिका भित्र भौगोलिक रुपमा बिकट रहेको क्षेत्र वडा नं ३ र १८ मा बसोबास गर्ने गर्भवती आमालाई लक्षित गरी ग्रामिण भिडियो एक्स–रे कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । साथै घरमा हुने सुत्केरीको संख्या शुन्यमा ल्याउने र सुत्केरी अवस्थामा आउन सक्ने जटिलता घटाउने उद्देश्यले त्यस क्षेत्रमा बसोबास गर्ने गर्भवती आमाहरुलाई गैंडाकोट नगर अस्पतालमा आमा घर कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ ।
अन्य प्रमुख उपलब्धीहरुमा पुर्ण खोप सुनिस्चितता पालिका घोषणा गरिएको, खोप कार्यक्रममा प्रथम क्याटागोरीमा पर्न सफल भएको उल्लेख गरिएको छ । सुत्केरी आमा पोषिलो खाना कार्यक्रम अन्तर्गत प्रति सुत्केरी ५००० का दरले ९९ जनालाई सेवा दिइएको उल्लेख छ । गर्भवति महिलालाई लक्षित गरी गैंडाकोट नगरपालिकाका वडा नं ३ र १८ मा ग्रामिण भिडियो एक्स–रे सेवा संचालन गरी ८४ जनालाई सेवा दिइएको प्रतिवेदनमा जनाइएको छ ।
पाठेघरको मुखको क्यान्सर परीक्षण गैँडाकोट स्वास्थ्य चौकीमा प्रत्येक हप्ताको बुधवार, गैँडाकोट नगर अस्पतालमा प्रत्येक महिनाको २१ गते सञ्चालन गरिएको साथै समुदाय स्तरमा ५ ठाउँमा संचालन गरिएको र ९ जनालाई प्रेषण गरिएको सिअनमि सिता देवी शर्माले बताउनुभयो ।
जेष्ठ नागरिक कार्यक्रम मार्फत टोल टोलमा पुगी जेष्ठ नागरिकको रगतमा ग्लुकोजको मात्रा र उच्च रक्तचापको परीक्षण गरिएको छ । १७४४ को औलो रोग परीक्षण र ९९१ को क्षयरोगको खकार परीक्षण गरिएको जनाइएको छ ।
गैँडाकोट नगरपालिकामा १५ सरकारी स्वास्थ्य संस्था, ६५ वटा निजि स्वास्थ्य संस्था रहेका छन् भने १८ वटा खोप केन्द्र रहेको छ । २ वटा वर्थिङ सेन्टर, २ वटा गाँउघर किल्निक र ४१ महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकामार्फत सेवा प्रदान गरिएको गैँडाकोट स्वास्थ्य शाखाका अधिकृत प्रकाश पोख्रेलले जानकारी दिनुभयो ।