गैँडाकोटमा ७ वर्षपछि नगर प्रहरीको खोजी

२०८० असोज ९ मंगलबार १८:००:०० मा प्रकाशित

गैँडाकोट । राज्य पुर्नसंरचनापछि नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनले नगर प्रहरी गठन गर्न सक्ने प्रावधान रहेपनि झण्डै ७ वर्षपछि गैंडाकोटमा नगर प्रहरी गठन प्रक्रिया अघि बढाइएको छ । नगरपालिकाले ९ जना नगर प्रहरी भर्नाको तयारी गरेको छ । नगरको नीति, नियम, निर्णय, मापदण्ड तथा प्रशासनिक आदेशहरुको कार्यान्वयनमा सहयोग र सहजिकरणका लागि नगर प्रहरी गठन गर्न लागिएको हो । 

स्थानीय तहको पहिलो कार्यकालका जनप्रतिनिधिले नगर प्रहरी गठन नै नगरी कार्यकाल बिताएका थिए । दोस्रो स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले झण्डै डेढ वर्षपछि नगर प्रहरी भर्ना गर्न लागेका हुन् । करार सेवामा नगर प्रहरी राख्न लागिएको हो । १ जना नगर प्रहरी सहायक निरीक्षक, १ महिला सहित २ जना नगर प्रहरी हवल्दार र २ महिला सहित ६ जना नगर प्रहरी जवान गरी ९ जना भर्ना गर्न लागिएको हो । 

गैँडाकोट नगरपालिकाले गत २०७९ फागुन ३ गते गैँडाकोट नगर प्रहरी ऐन बनाएको थियो । त्यस्तै गत साउन १६ गते नियमावली बनाएको छ । यसअघि नगरपालिकाले सेक्युरिटी कम्पनीमार्फत केही सुरक्षाकर्मी परिचालन गरी नगरपालिका कार्यालयमा मात्रै परिचालन गर्दै आएको थियो । 

नगर प्रहरी सहायक निरीक्षक र नगर प्रहरी हवल्दार पदका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना वा अन्य मुलुकको सेनामा अनुभव प्राप्त गरेको, ४५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । नगर प्रहरी जवान पदका लागि १८ वर्ष उमेर पूरा भई २४ वर्ष ननाघेको र ८ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने छ । कर्मचारी छनौट शारीरिक परिक्षण, लिखित परिक्षा र अन्तर्वार्तामाफर्त हुने प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले जानकारी दिनुभयो । 

नगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने, नगरमा हुने सभा समारोह, परम्परा तथा जात्रा, चाडपर्वको सुरक्षा, व्यवस्थापन गर्ने, नगरको बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवथापन गर्ने, नगरको सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन गर्ने नगर प्रहरीको काम कतव्र्य र अधिकार तोकिएको छ । 

त्यस्तै न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन गर्ने, सार्वजनिक, ऐलानी र पर्तिजग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण सुरक्षा गर्ने जिम्मेवारी छ । विपद व्यवस्थापन अन्तरगत खोजी, उद्दार, राहत तथा पुर्नस्थापना सम्बन्धी कार्य गर्ने, अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड नियन्त्रण गर्ने, छाडा पशु चौपायाको नियन्त्रण गर्ने जिम्मा पनि प्रहरीलाई नै दिइएको छ । 

त्यसैगरी अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने, नगर कार्यपालिका तथा वडा कार्यालयको सुरक्षार्थ आवश्यक व्यवस्था मिलाउने, नगरपालिका क्षेत्रमा घुम्न आउने पर्यटकको सुरक्षाको लागि आवश्यक व्यवस्था गर्ने र प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य कार्य गर्ने गरी नगर प्रहरी कर्मचारीको काम कतव्र्य र अधिकार तोकिएको छ ।