
गैँडाकोट । दसैँ उल्लासमय बनाउन डेङ्गु नियन्त्रण अनिवार्य रहेको सरोकारवालाहरुले बताएका छन् । मंगलबार गैँडाकोट स्वास्थ्य चौकीमा भएको डेङ्गु लगायत किटजन्य रोग नियन्त्रणका लागि बहु निकाय अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले चाडपर्व सुखद् बनाउन र समुदाय स्वस्थ बनाउन पनि लामखुट्टेजन्य रोग नियन्त्रणका लागि सरसफाइमा जोड दिएका हुन् ।
गैँडाकोट नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले दसैँ लगायतका चाडपर्व सुखद् बनाउने हो भने डेङ्गु नियन्त्रणका लागि सरसफाइमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गएका वर्ष दसैँका सम्मुखमा डेङ्गु सङ्क्रमण उच्च थियो, धेरैको दसैँ खल्लो भएका उदाहरण छन् चाडपर्व रमाइलो बनाउने हो भने बढ्दो डेङ्गु सङ्क्रमण रोक्नुपर्छ ।” उहाँले हरेक हप्ता घर वरपर पानी जम्न नदिने गरी सरसफाइमा जोड दिन आग्रह गर्नुभयो ।
नगर स्वास्थ्य शाखाका अधिकृत प्रकाश पोख्रेलले हरेक असोज महिनामा डेङ्गु सङ्क्रमण उच्च देखिएकाले सावधानी अपनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “चाडपर्वमा अस्पताल बस्नुपर्ने अवस्था आउन नदिन डेङ्गु लगायत किटजन्य रोग नियन्त्रणका लागि समुदाय सजग बन्नुपर्छ, त्यस्का लागि सरसफाइ र लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ ।”
कार्यक्रममा उपस्थित गैँडाकोट ५ का टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिले डेङ्गु रोग नियन्त्रणका लागि हरेक टोलमा ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने बताएका छन् । १३ गते बिहान वडाका सबै क्षेत्रमा एकसाथ ‘लार्भा खोज र नष्ट गर’ अभियानका साथ सचेतना कार्यक्रम गर्ने बताएका हुन् ।
गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले वडाका १९ वटा टोल विकास संस्थालाई सचेतनाका लागि आवश्यक ब्यानर उपलब्ध गराउने बताउनुभयो । टोलमा पानी जमेको स्थानमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउने, वर्कसप तथा टायरलगायत सडक किनारमा राखिएको वस्तुमा पानी जम्ने ठाउँमा सरसफाइ गर्न सजग गराउनुभयो ।
नगर स्वास्थ्य शाखाले नगरपालिकाका ९, १३, ३, ६ र ५ मा डेङ्गु लगायत किटजन्य रोग नियन्त्रणका लागि बहु निकाय अन्तरक्रिया कार्यक्रम गरिसकेको छ । दसैँअघि गैँडाकोट १, २ र १५ मा कार्यक्रम गर्ने तयारी गरेको छ । कार्यक्रममा वडाका जनप्रतिनिधिहरु शान्ति न्यौपाने, द्रोण वन, उषा परियार, तुलसीप्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो ।
एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने गर्छ । यो रोग लाग्दा ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखा पर्दछ । असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण पनि देखा पर्न सक्छ । डेङ्गु ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेङ्गु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ ।
डेङ्गु रोगबाट बच्न मुख्यतया लामखुट्टेको टोकाइबाट बच्नु हो । यसका लागि लामखुट्टे बस्ने स्थान जस्तै गमला, एसी, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न दिनु हुँदैन ।