गैँडाकोट नगर अस्पतालमा आँखाको उपचारका लागि सम्झौता 

२०८० असोज ९ मंगलबार १५:२५:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगर अस्पतालबाट आँखा सम्बन्धी उपचारका लागि गैँडाकोट नगरपालिकाले नेपाल नेत्रज्योति संघ (भरतपुर आँखा अस्पताल)सँग सम्झौता गरेको छ ।

गैँडाकोट नगर अस्पतालका अध्यक्ष एवं गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारी र नेपाल नेत्रज्योति संघ (भरतपुर आँखा अस्पताल) सञ्चालक समितिका अध्यक्ष जयराम श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । 

उपकरण खरिद, चस्मा, औषधी र कर्मचारी एवं कार्यालय व्यवस्थापन लगायतका कार्यमा हुने खर्च व्यवस्थापनका लागि गैँडाकोट नगरपालिकाले वार्षिक ६ लाख उपलब्ध गराउने छ । आँखा जाँच गरे वापत भने शुल्क लाग्ने जनाइएको छ । भरतपुरमा हाल १५० रुपैयाँ ओपिडि टिकटको शुल्क लिने गरेको छ । गैँडाकोटमा शुल्क कति लाग्ने भन्ने निर्णय गर्न भने बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ । 

गैँडाकोटमा विस्तार हुन लागेको भरतपुर आँखा अस्पतालको यो १९ औँ शाखा/सेवा केन्द्र हो । 

यहि भदौ २५ गतेको कार्यपालिका बैठकले गैंडाकोट नगरपालिकाको १३ औं नगर सभाबाट विनियोजन भएको बजेटको सीमा भित्र रही आँखा अस्पताल सञ्चालनका लागि अख्तियारी प्रदान गर्ने निर्णय गरेको थियो ।