पर्यटक भित्राउने मौलाकाली वनको नीति

गैँडाकोट । मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैँडाकोटले पर्यटक भित्राउन विभिन्न कार्यक्रम सहितको नीति लिएको छ ।
वार्षिक योजना तर्जुमा गर्दै यस वर्ष सामुदायिक वनमा पर्यटक भित्राउन विभिन्न कार्यक्रम गर्ने योजना सहितको नीति अघि सारेको वनका कोषाध्यक्ष कमल कंडेलले जानकारी दिनुभयो । कंडेलले आर्थिक वर्ष २०८०÷८१ का लागि १ करोड ४८ लाख रुपैँया बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।
योजना तर्जुमा गोष्ठीमा पर्यापर्यटनमा जोड दिने, विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने, महिला उद्यमशीलता, विपन्न दलित उत्थान र गैँडाकोट १ र २ मा रहेका बाटोहरुमा धार्मिक बिरुवा रोपी हरित मार्ग निमार्ण गर्ने जस्ता बिषयलाई जोड दिएको वनका अध्यक्ष हरिप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
साथै चुहारखोला ताल निर्माण, कृषि सिँचाइ, बीउ वितरण, सामुहिक फलफूल खेतीलाई जोड दिइएको उहाँको भनाइ छ ।
गैँडाकोट एकका वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले समुदाय लक्षित कामलाई जोड दिन सुझाव दिनुभएको थियो । उहाँले वन संरक्षणमा वडाले पनि हातेमालो गर्ने बताउनुभयो । त्यस्तै सब डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सूर्यसिहं गुरुङले उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले मन्दिर र वन एक भएर अगाडी बढेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभएको छ ।