असल शिक्षकको सेवा सुविधा बढाउन किन जरुरी छ ?

२०८० असोज ५ शुक्रबार १६:१८:०० मा प्रकाशित

 

सरकारले संसदमा पेश गरेको शिक्षा विधेयकका विरुद्ध यतिबेला शिक्षकहरु काठमाण्डौँ केन्द्रीत आन्दोलनमा छन् । एउटा असल शिक्षकले आफ्नो अमूल्य समय शिक्षण पेशामा लगाएको हुन्छ । एउटा असल शिक्षकका लागि उसको कार्यबोझ अनुसार उसको तलब बृद्धि हुन जरुरी छ । शिक्षा विधेयकको विरुद्धमा उत्रिएका शिक्षकहरु निजामति कर्मचारी सरहको तलब माग गरिरहेका छन् । शिक्षकले आफ्नो कार्यबोझ अनुसार निजामति भन्दा बढी सेवा सुविधा देउ भन्न किन नसकेको । यथार्थमा शिक्षककालागि उसको तलब निजामति कर्मचारीको भन्दा बढी हुन जरुरी छ । 


१. असल शिक्षकले कक्षा शिक्षणका लागि पूर्व तयारी गर्नुपर्ने हुन्छ ।


२. असल शिक्षकले आफैले पनि शैक्षिक सामग्री निर्माणका लागि आवश्यक सामग्री खरिद गरि शिक्षण सामग्री निर्माण गर्नुपर्ने हुन्छ । 
३. असल शिक्षकले थोरै समयमा ठूलो समूहको परिचालन गर्नुपर्ने हुन्छ । सिकाउन पर्ने हुन्छ । कतिपय अवस्थामा विद्यालयको अवस्था हेरेर बहुकक्षा शिक्षण गर्नुपर्ने हुन्छ ।


४. ठूलो समूहले एकनासले सिक्दैन । व्यक्तिगत विभिन्नताको आधारमा सिकाइ सहजीकरण गर्नुपर्दछ । यसका लागि अतिरिक्त समय दिनुपर्ने हुन्छ । अफिस समय सकिएपछि पनि अतिरिक्त सिकाइ कक्षा गर्नुपर्ने हुन्छ । 

५. सन्दर्भ सामग्रीको अद्यावधिक तथा विकास गर्नुपर्दछ ।


६. स्वअध्ययनका आधारमा नविनतम प्रविधिसँग अध्यावधिक भइरहन पर्दछ । प्रत्येक शिक्षकले ल्यापटप, विभिन्न प्राविधियुक्त सामग्रीको व्यवस्थापन गर्नुपर्दछ । यसका लागि राज्यले न व्यवस्था गरेको छ न विद्यालयको स्रोत छ । त्यहि तलबबाट व्यवस्थापन गर्नुपर्दछ । 


७. असल शिक्षकको १० बजेदेखि ४ बजेसम्मको समयले जिम्मेवारी पूरा गर्न भ्याउँदैनन्, उनीहरुले अतिरिक्त समय दिनै पर्दछ । परिवारको समय काटेर विद्यार्थीको सिकाइ उपलब्धीमा लगाउनुपर्दछ । 


यसरी असल शिक्षकहरूकोे कार्यबोझ हेर्दा शिक्षकलाई सुविधा निजामति कर्मचारी भन्दा कम होइन, बढी नै  हुनुपर्दछ ?