हामी कर्तव्यबोध नगर्ने अभिभावक बन्यौँ की ?

२०८० श्रावण ७ आइतबार १२:२६:०० मा प्रकाशित


एउटा अभिभावक भेलामा उपस्थित हुने मौका पाएको थिएँ । करिब एक सयभन्दा बढी अभिभावकको उपस्थिति थियो । सहजकर्ताले प्रश्न सोध्नुभयो “तपाईंहरु आफ्ना छोराछोरीबाट के चाहनुहुन्छ ।” अभिभावकको बीचबाट एकजनाको आवाज आयो “छोराछोरी ज्ञानी बनुन, धेरै पढुन ।” अर्का अभिभावकले भने “आफ्नो काम आफै गरुन, काममा सहयोग गरुन, अनुशासित बनुन” । अगाडी बसेका अभिभावकले भने “परीक्षामा राम्रो नम्बर ल्याउन ।” लगभग सबै अभिभावकको चाहना एउटै थियो ।


हामी चाहना राख्न सिपालु अभिभावक छौँ । मनमा आएका चाहना सहजै राखिदिन्छौँ । चाहनाहरु चाहना राख्दैमा पुरा हुन्छन् र ? बालबालिकाबाट हामीले अपेक्षा गरेका कामहरु के सहजै हुन सक्छन् र ? हामीले राखेका चाहना पूरा हुनका लागि के हाम्रो भूमिका केही हुँदैन र ? अभिभावकहरुले आफ्ना बच्चासँग चाहना राख्नु हुन्छ तर आफ्नो कर्तव्यबाट भने पन्छिएको देखिन्छ । केही अभिभावकहरुले आफ्नो कर्तव्य पूरा गर्नुभएको हुन सक्छ । तर सबै अभिभावक केही अभिभावकमा पर्नुहुन्न । 


१. गृहकार्य समयमै गरुन ।


हामी आफ्ना बालबालिकासंग गृहकार्य गरुन भन्ने चाहना राख्छौँ । अझ समयमै गरुन भन्ने चाहना राख्छौँ । बालबालिका स्वभावले नै चञ्चल हुन्छन् । गृहकार्य गर्दागर्दै अर्को कुरामा भुलिदिन्छन् । गृहकार्य भन्दा खेल तर्फ उनिहरुको मन दौडिन्छ । भोलीपल्ट विद्यालय जाने बेलामा गृहकार्य गरेन भनेर हामी जोडजोडले कराउँछौँ । पिट्छौँ । गाली गर्छौँ । हामीले आफुले गर्नुपर्ने कर्तव्य गर्दैनौँ । बच्चामाथि शासन मात्र गर्छाँै ।


आफ्ना बाबुनानीको दैनिकी तालिका बनाइदिनुहोस् । कुन समयमा गृहकार्य गर्ने, किताब पढ्ने, कुन समयमा खेल्ने, कुन समयमा टि.भि. हेर्ने लगायतका सूचि बनाइ समय तालिका बनाइदिनुहोस् । त्यो तालिका अनुसार उनिहरुलाई काम गर्न प्रेरित गर्नुहोस् । गृहकार्य गर्दा परिवारका कुनै न कुनै सदस्य संगै बस्नुहोस् । उनिहरुसंग बसेर बत्ती कात्नुहोस्, संगै बसेर पुस्तक पढ्नुहोस्, संगै बसेर गृहकार्य गरेको हेर्नुहोस्, तपाईंको उपस्थितिले मात्र पनि तपाईंका बाबुनानीले गृहकार्य गर्छन् । समय तालिका अनुसार समयमै गृहकार्य सक्छन् । 

 

२. मोबाइल हेर्ने बानी छुटोस् 


बालबालिकाका लागि मोबाइल हेर्ने कुरा एउटा लत बनेको छ । लत बनेको कुरा छुटाउन सहज छैन । 
लत कसरी बस्यो ? 
लत कसले बसालीदियो ? 


यति कुरा बुझ्नुभयो भने तपाईंको बाबुनानीको मोबाइल हेर्ने समस्या हटेर जान्छ । 


कति किचकिच गर्छ, ला मोबाइल हेरेर बस । 


एकछिन थकाइ मार्न बसेको सुख दिन्ने, ला मोबाइल हेरेर बस । 


एकछिन रमाइलो गरुँ भनेको किच किच गर्छे, ला मोबाइल हेरेर बस । 


कत्ति कराएर दुःख दिएका, मोबाइलमा कार्टुन हेरेर बस ।


खाना नै खान मान्दैन, मोबाइल देखाएर खुवाउँछु ।

 
यसलाई मोबाइल दिएपछि, मैले अरु काम गर्न भ्याउँछु । 


तपाईंले यसरी नै आफ्नो बाबुनानीलाई मोबाइलको लत बसाइदिनुभयो । अब आफुले मोबाइल हेर्दै गाली गर्नुहुन्छ “कत्ति मोबाइल हेरेर बस्न सकेको ? खुरुक्क पढेर बस् त ।” 


आफू टिकटक हेरेर बस्नुभएको छ, छोरीलाई गाली गर्दै भन्नुहुन्छ “कति गेम खेलेर बसेकी, होमवर्क गर्ने होइन ?” 


समस्या बालबालिका होइन, समस्या हामी अभिभावक पो हौँ की ? हामीले कामको प्रयोजन बाहेक अन्य मनोञ्जनका लागि मोबाइल उनिहरुका अघि प्रयोग गर्न छोड्यौँ भने त ? उनिहरुको लत कम भएर जान्छ नी । 


बालबालिकालाई कथाका पुस्तकहरु किनेर दियौँ भने पनि उनिहरुको समय वित्छ । उनिहरुसंगै समय मिलाएर संवाद गर्ने ग¥यौँ भने पनि उनिहरुको समय सहजरुपमा वित्छ । उनिहरुसंग संगै खेल्न र घुम्नका लागि पनि समय निकाल्यौँ भने पनि मोबाइलको लत घटाउन सकिन्छ ।


हामीले उनिहरुलाई समय दिन नसकेका कारणले नै उनिहरुमा मोबाइलमा लत बसेको हो । हामी उनिहरुसंग कुराकानी नगर्ने, नखेल्ने, उनिहरुको गतिविधिमा सहभागि नहुने, उनिहरुलाई सहज वातावरण नबनाइदिने अनि अपेक्षा मात्र राखेर समस्याको समाधान हुन्छ र ? कदापी हुँदैन । समस्या बालबालिकामा होइन, हामी अभिभावकमा पो छ की ?  

३. आफ्नो काम आफै गरुन

सबैजसो अभिभावकहरुको चाहना हुन्छ कि । सामान्य कामहरु उनिहरु आफै गरुन । जब चाहना पुरा हुँदैन सबै जसो अभिभावकको आक्रोश चुलिन्छ 


“१४ वर्षको भयो, पसल पुगेर सामान लिएर आउन जान्दैन ।” 


“१५ वर्षकी भइ, आफ्नो ड्रेस धुन जानेकी छैन, के गरेर खान्छे ।”


“९ वर्षको भयो, आफ्नो बेड, आफै मिलाउँदैन ।”


१४ वर्षको बाबु पसल गएर किन्न जान्दैन । किन होला ? किनकी उसलाई उसको अभिभावकले पसलमा कहिल्यै लानुभएन । उसलाई पसलमा पुगेर कसरी संवाद गर्ने ? कसरी भन्ने ? सामानको मूल्य, दिने रुपैँया, फिर्ता लिने रुपैँया लगायतका विषयमा उसमा अन्योल हुन्छ । तसर्थ उसलाई पसलमा सामान किन्न असहज लाग्छ । 


पसलमा लिएर जाँदा झण्झट हुन्छ । अर्को सामान किन्न झगडा गर्छन् भन्ने सोचले उनिहरुको क्षमता विकासका लागि प्राप्त हुने अवसर गुमेको छ । पसलेसंग बोल्ने बानीले दोहोरो सञ्चारको अभ्यास गराउँछ । बोल्ने कलाको विकास गराउँछ । सामान र मूल्यको बारेमा ज्ञान बढाउँछ । पैसाको महत्व बुझ्न सहज बनाउँछ । पैसाको सामान्य हरहिसाबले उनिहरुको गणितको अभ्यास राम्रो बनाउँछ । 


१५ बर्षको नानी आफ्नो पोशाक धुन किन सक्दिनन् । किनकी उनिलाई सानै देखि अभ्यास गराइएन । उनलाई अवसर अभिभावकले दिनुभएन । सर्फ सकि । साबुन सकि भनेर कि गाली गर्नुभयो ? कि अवसर नै दिनुभएन ? १÷२ कक्षा पढ्ने बाबुनानीलाई आफ्नो रुमाल धुन लगाउने, सुकाउन लगाउने र उठाएर पटाएर राख्न लगाउने गरेको भए यो समस्या हुने थिएन । आफ्नो बेड मिलाउने कुराको थालनी रुमाल पट्याउनेबाट सुरु हुन्छ । सरसफाईको यति कुराले पनि उसले कति धेरै ज्ञान हासिल गर्न पाउँछ । पानीको महत्व, सूर्यको प्रकाशको महत्व, असल बानी विकासका बारेमा धेरै कुरा सिक्ने अवसर पाउँछ ।  


सिकाइको वातावरण घरमा पनि मिलाउन सकिन्छ । खाली शिक्षकको भर परेर मात्र हुन्छ र ? तितो सत्य के हो भने तपाईंले जति लगानी गर्नुभयो उनिहरुले उति नै सिकाउने हुन् ? सबै कुराको जिम्मा विद्यालय र शिक्षकलाई नदिनुहोस् । आफ्नो कर्तव्यका बारेमा पनि सजग बन्नुहोस् । आफूले सबैभन्दा बढी माया गर्ने आफ्ना सन्तानलाई जीवन दैनिकी सिकाउन हामीले अल्छि गर्ने अनि अरुबाट आशा मात्र राखेर पुरा गर्न सकन्छि त ? कदापी सकिदैन ।

हामी अभिभावक सचेत बन्यौँ भने, बल्ल बालबालिकाको सिकाइ प्रभावकारी बन्दै जान्छ । आफ्ना बाबुनानीको किताब कपि हेर्नुहोस् त ? के पढेका छन् ? कस्तो लेखेका छन ? तपाईंले राख्ने चासोले आफ्नो बाबुनानीको सिकाइ मात्र होइन, बाबुनानीलाई सिकाउने शिक्षकको मेहनत पनि बढेर जान्छ । 

आलेखकर्ता :  सामुदायिक रेडियो विजय एफएम १०१.६ का स्टेशन म्यानेजर तथा शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरका सदस्य हुनुहुन्छ ।