किसान साकोसको एकाई ३ को साधारण सभा सम्पन्न

२०७९ मङ्सिर १७ शनिबार १६:४६:०० मा प्रकाशित

गैँडाकोट । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं साधारणसभा अन्तगर्त एकाई ३ को सभा सम्पन्न भएको छ । 

देवचुली १७, वरचुली माविको खेलमैदानमा शनिवार भएको साधारण सभामा संस्थाका अध्यक्ष श्रीहरि चालिसेले २४ वटा सहकारी संस्थाहरुलाई एकिकरण गरी सहकारी अभियानलाई नै मार्गदर्शक रूपमा चिनाउन किसान सहकारी सफल भएको बताउनुभयो । उहाँले संस्थामार्फत ३ प्रदेशका ४ वटा जिल्लाहरुमा ८२ हजार सेयर सदस्यहरु मार्फत करिब ४ अर्व पूँजी परिचान गर्न सफल भएको बताउनु भयो ।

सभामा सहसचिव सरस्वती कँडेलले आर्थिक वर्ष २०७८/७९ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो । संस्थाका सञ्चालक सदस्य राजेन्द्र गौतमले आर्थिक वर्ष २०७८÷७९ को आर्थिक प्रतिवेदन एवं २०७९/८० को प्रस्तावित लक्ष्य तथा बजेट प्रस्तुत गर्नुभएको थियो । गौतमले चालु आर्थिक वर्षको कुल सम्पत्ति ३ अर्व ४४ करोड ७९ लाख ५६ हजार ८ सय ४९ रुपैयाँ रहेको जानकारी गराउनुभएको थियो । 

संस्थाका निर्वतमान अध्यक्ष एवं सञ्चालक सदस्य गोपाल प्रसाद गौतमले बर्तमान संस्थागत अवस्था, विगत २ वर्षदेखि कोभिड–१९ को प्रभाव तथा हाल देखा परेको आर्थिक संकुचनका वावजुद पनि संस्थामा तरलताको अवस्था अत्यन्तै मजबुत रहेको बताउनुभयो । साधारण सभामा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक चिन्तामणी कँडेलले प्रस्तुत गर्नुभएको थियोे ।

एकाइ नम्बर ३ को साधरण सभाबाट ८ वटा विविध प्रस्ताव पारीत गर्दै माइन्यूट प्रमाणीतका लागी प्रतिनिधि चयन गरिएको छ । स्वागत मन्तव्य व्यक्त गर्दै उपाध्यक्ष भोजराज पौडेलले यहि मंसिर २४ गते साधारण सभा माईन्यूट प्रमाणित कार्यक्रम गैंडाकोट स्थित द नारायणी होटलमा सम्पन्न हुने जानकारी गराउनुभएको थियो ।