मिहिनेती तीन किसानलाई मेवा फलिफाप

२०७९ कार्तिक २२ मंगलबार ११:२४:०० मा प्रकाशित

चितवन । व्यस्त बजार चितवनको नारायणगढबाट ९ किलोमिटर पश्चिम मंगलपुर पुगेपछि तीनजना व्यक्ति बजारमा जस्तै उत्तिकै व्यस्त भेटिन्छन् । तर खेतबारीमा । यहाँ पुगेपछि १ विगाह जग्गामा लटरम्म फलेका मेवाका बोट देखिन्छन् । यहि मेवा खेती गरिरहेको स्थानमा भेटिन्छन् परिश्रमी तीन किसान । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा ३ जना किसान मिलेर मेवा खेती सुरु गरेका हुन् । तीन ‘क’ अर्थात कृष्णप्रसाद भण्डारी, काशिराम कंडेल र कृष्णराज सुबेदीको मेवा खेतीका लागि गरेको मिलेमतोले फलिफाप बन्दै गएको छ । 

कृष्णप्रसाद भण्डारी कृषि प्राबिधिक पनि हुन् । ६१ वर्षिय भण्डारीकै नेतृत्वमा मेवा खेती सुरु भएको हो । कृषि सम्बन्धी ज्ञान भएकाले पनि उनलाई यत्तिकै घर बस्न मन लागेन र साथीसँग मिलेर मेवा खेती सुरु गरे । मेवा खेती सुरु भएको १ वर्ष भयो । अहिले लटरम्म फलेका मेवा टिप्ने र बिक्री गर्ने बेला भएको छ । यहि काममा उनीहरु व्यस्त छन् ।  


भरतपुर १५ मा भण्डारी सहितका तीन जनाले ताइवान रेडलेडी जातको ६ सय ५० मेवाका बिरुवा ल्याएर खेती सुरु गरेका हुन् । मेवा स्वास्थ्यका लागि उपयोगी र प्रशस्त आम्दानी हुने भएकाले यस खेतीको सम्भावना बढी देखिएको भण्डारी बताउँछन् । फल दिन सुरु गरेको डेढ महिनामा नै मेवाले २ लाख आम्दानी दिइसकेको छ । 

तराई र मध्यपहाडमा समेत मेवा खेती हुने गरेको छ । राम्ररी हुर्किएको मेवाको बोटले वार्षिक ४० केजीसम्म फल दिने गरेको छ । एकपटक रोपिएको मेवाको बोटले करिब ३ वर्षसम्म निरन्तर उत्पादन दिन्छ । कृषिका लागि प्रेरणाको स्रोत बन्न भए पनि नयाँ खेतीमा लगानी गरेर अवकास पछिको जीवन विताइरहेको अर्का किसान कृष्णराज सुबेदीले बताए । बेरोजगार बनेर सबै विदेश गइरहँदा आफूहरूले भने यहि आम्दानी गरिरहेको उनको भनाइ छ ।  

कम मिहिनेतमा प्रशस्त आम्दानी गर्न सकिने मेवा खेतीमा किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको उनीहरु बताउँछन् । तर पटक–पटक आग्रह गरे पनि तीनै तहका सरकारबाट कुनै सहयोग नपाएको गुनासो उनीहरुको छ । कृष्णप्रसाद भण्डारी सरकारबाट प्रोत्साहन भए खेतीलाई विस्तार गरेर थप व्यवस्थित बनाउन सकिने बताउँछन् । मल बीउ, बजारीकरण र सहि किसानले अनुदान पाउनुपर्ने उनीहरु तर्क गर्छन । 

नेपालमा हनिड्यू, पूसा मेजेस्टी, पूसा जोइन्ट, वासिङ्टन, सोलो, पूसा डेलिसियस, सिलोन, पूसा नन्हा आदि प्रजातिको मेवा बजारमा पाइन्छ । हाल नेपालको बजारमा भारतीय मेवा बिक्रिमा रहेको देख्न सकिन्छ । नेपालमा मेवा खेती गरेर उत्पादन गर्ने हो भने भारतीय बजारको निर्भरता घट्ने र नेपाल मेवामा आत्मनिर्भर बने सँगै कृषिमा रोजगारी बढ्ने उनीहरुको ठम्याइ छ ।