जितिया पर्व मनाईंदै 

२०७९ असोज २ आइतबार ०७:१३:०० मा प्रकाशित

गैँडाकोट । मधेसी, थारु र मैथिली समुदायका महिलाहरुले आज जितिया पर्व मनाउँंदैछन् । आ–आफ्ना सन्तानको दिर्घायु तथा पितृहरुको सम्झनाका लागि मनाइने यो पर्व हिजोदेखि विधिवत रुपमा सुरु भएको हो । आश्विन कृष्ण सप्तमी तिथिको आगमनसँगै यो पर्वमा उपवास सुरु हुने र अष्टमीको दिनभरी पर्व मनाइने तथा नवमी तिथि आगमन हुनासाथ पारण गरे सकेपछि ब्रत समापन हुनेछ । कठोर व्रतका रुपमा लिईएको यस पर्वमा पानी पनि पिउन नपाउने, थुक पनि निल्न नपाउने र नवमी तिथिमा बिहान भएपछि मात्र भोजन गरेर ब्रत सम्पन्न गर्ने गर्छन् ।

नवलपुरका तराई एवं भित्रि मधेसका थारु समुदायको बाहुल्यता रहेका पालिकाहरुमा आइतबार सार्वजनिक बिदा दिइएको छ । थारुहरुको महान चाड जितिया पर्वको अवसरमा आइतबार देवचुली, कावासोती, मध्यविन्दु र विनयीत्रिवेणीमा बिदा दिईएको हो । गैँडाकोटमा भने थारु महिला कर्मचारीलाई विदा दिईएपनि कार्यालयहरु भने यथावत सञ्चालनमा रहने छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत हाम्रा संस्कृति र संस्कारमा रहेका विशिष्ट पहिचानका विशेषतालाई जितिया पर्वले पनि समेटेको बताउनुभएको छ ।   

गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले परिवारबीचको माया, प्रेम, समर्पण र वात्सल्य प्रगाढ बनाउन यो पर्वबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै पर्व मनाउनुहुने सबैलाई हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्नुभएको छ । 

विजय एफएम १०१.६ का अध्यक्ष भूमिराज चापागाईंले यस पर्वले आमा र सन्ततीबीचको पारस्परिक सद्भाव, मातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई थप प्रगाढ र सुदृढ पार्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । 

थारु कल्याणकारिणी सभा गैँडाकोट नगर समितिका अध्यक्ष लक्ष्मीप्रसाद चौधरीले सूर्यपुत्र जितवाहनको पूजा आरधना गरि जितियालाई विजय अर्थात् जितका रुपमा मनाउँदै आएको बताउँदै सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।