सिम्रन क्षेत्रीको ‘झुमर’ उपन्यास सार्वजनिक 

२०७९ असार ११ शनिबार १८:२६:०० मा प्रकाशित

गैँडाकोट। आख्यानकार सिम्रन क्षेत्रीको ‘झुमर’ उपन्यास सार्वजनिक भएकोे छ । साहित्यकार एलबी क्षेत्रीले उपन्यास विमोचन गर्नुभएको हो । सम्पूर्ण किताब नारायणगढका संयोजक सिरिसा सापकोटाको आयोजनामा कृति विमोचन गरिएको थियो । 
उपन्यासबारे टिप्पणी गर्दै साहित्यकार एलबी क्षेत्रीले उपन्यासमा नारी अस्तित्वलाई कथा बनाएर महिलामाथि हुने छलकपटविरूद्ध आवाज उठाएको बताउनुभयो । उहाँले हाम्रो समाजमा महिला हिंसा अझैपनि यथावत रहेको बताउनुभयो । उहाँले उपन्यास र कथामा धेरै अन्तर रहेको बताउनुभयो र लेखकको कलम कहिले पनि नरोकिने आशा राखेको बताउनुभयो। 
कार्यक्रममा ‘झुमर’ उपन्यासका लेखक सिम्रन क्षेत्रीले आफूले समाजमा देखेका घटनालाई आधार बनाएर उपन्यासको निर्माण गरेको बताउनुभयो । उहाँले उपन्यास लेखनमा खासै समस्या नभएतापनि छपाइमा भने निकै समस्या बेहोर्नु परेको उल्लेख गर्नुभएको थियो । उहाँले नयाँ लेखकहरुले रचना गरेका कृतिहरु प्रकाशनमा ल्याउन सहज गराईदिनुहुन अनुरोध गर्नुभएको छ। उहाँले मिहिनेत गरेपछि कुनैपनि काम गर्न अप्ठ्यारो नहुने बताउनुभयो। 
कार्यक्रममा चितवन साहित्य परिषदका पुर्व अध्यक्ष गायत्री श्रेष्ठ, कवि तथा आख्यानकार भुपिन खड्का, प्राध्यापक लक्ष्मी वराल, एसोएस बालग्रामका भोलानाथ पौडेल लगायतले उपन्यासमा क्षेत्रीले महिलाहरुले जीवनमा भोगिरहेका दुःख र लैङिगक विभेदलाई सरल रुपमा उजागर गर्न प्रयास गरेको बताउनुभएको थियो । विमोचन कार्यक्रमलाई सञ्चारकर्मी सविता अधिकारीले सहजीकरण गर्नुभएको थियो।