एसीसी महिला प्रिमियर कप क्रिकेटः नेपाल बुधबार कतारसँग भिड्दै
काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता बुधबारदेखि मलेसियामा शुरू हुँदैछ । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल बुधबार नै कतारसँग खेल्ने भएको छ । नेपाल र कतारबीचको खेल नेपाली समय अनुसार बिहान ७ः१५ बजे शुरू हुनेछ । यो एसीसी महिला टी-२० एसिया कपको छनोट प्रतियोगिता पनि हो । प्रिमियर कपमा १८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
नेपाल र कतार प्रतियोगिताको समूह ‘डी’मा परेका छन् । नेपाली टोलीले आफ्नो दोस्रो खेल जुन ४ तारिखमा भुटानसँग खेल्नेछ । नेपाली टोलीले समूहगत चरणको अन्तिम खेल जुन ६ तारिखमा हङकङसँग खेल्नेछ । नेपाल र कतारको महिला टोलीबीच यसअघि चारवटा टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ । चारवटै खेलमा नेपाली टोली विजयी भएको छ ।