नवलपुरका बासिन्दाका लागि आम्दानीको स्रोत बन्दै अम्रिसो खेती, अम्रिसोबाट एक करोड बढी आम्दानी

२०८३ जेठ १७ आइतबार १८:३८:०० मा प्रकाशित

नवलपुर । नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि अम्रिसो खेती आम्दानीको प्रमुख स्रोत बन्दै गएको छ । पहाडी भू-वनोटमा अन्य खेती राम्रोसँग नहुने भएपछि अम्रिसो खेतीतर्फ लागेका किसानले यसबाट राम्रो आम्दानी लिन थालेका छन् । जिल्लाका हुप्सेकोट, बौदीकाली, बुलिङटार, गैँडाकोट, मध्यविन्दु तथा विनयी त्रिवेणी गाउँपालिकाका पहाडी क्षेत्रमा अम्रिसो खेती गरिँदै आएको छ ।

 

डिभिजन वन कार्यालय नवलपुरमार्फत कबुलियती वनमा अम्रिसो खेतीलाई प्रोत्साहन गरिएपछि पहाडका पाखाहरू हराभरा मात्र बनेका छैनन्, स्थानीय बासिन्दाको आयआर्जनको भरपर्दो आधारसमेत बन्न पुगेको छ । जिल्लामा एक सय २१ वटा समूहले कबुलियती वनमार्फत अम्रिसो खेती गरिरहेको कबुलियती वन विकास कार्यक्रम नवलपुरका जिल्ला सुपरिवेक्षक तुलबहादुर रानाले बताउनुभयो ।

 

डिभिजन वन कार्यालयले अम्रिसो खेतीका लागि निःशुल्क बिरुवा वितरण गर्दै आएको छ । नवलपुरमा अम्रिसो खेती गरेका किसानले यस सिजनमा तीन सय एक मेट्रिक टन अम्रिसो उत्पादन गरी बिक्री गरेको जिल्ला सुपरिवेक्षक रानाले बताउनुभयो । जसबाट किसानले रु. एक करोड ६५ लाख ७२ हजार आम्दानी गरेको उहाँले जानकारी दिनुभयो ।