नारायणीमा बेपत्ता युवकको आज पनि खोजी कार्य जारी 

२०८२ मङ्सिर २३ मंगलबार ०७:४१:०० मा प्रकाशित


नवलपरासी पूर्व । गैंडाकोटमा टिकटक भिडियो खिच्ने क्रममा एक युवक नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् । सोमबार साँझ करिब ५ बजेतिर गैंडाकोटस्थित नारायणी नदीमा भिडियो खिच्दै गरेका तरुण भण्डारी अचानक डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकका अनुसार भण्डारी नारायणी नदीमा निर्माणाधीन पानीजहाज परियोजनामा कार्यरत मजदुर हुन् । उनले टिकटक बनाउन साथीलाई आफ्नै मोबाइल दिएर भिडियो खिच्न लगाएका थिए । भिडियो खिच्ने क्रममा एकाएक नदीमा पुगेका भण्डारी बेपत्ता भएपछि साथी र स्थानीयले खोजतलास गरे पनि हिजो फेला परेनन् ।

आज विहान ८ बजेपछि इलाका प्रहरी कार्यालय गैडाकोट र गोताखोर टोलीले खोजी कार्य जारी राख्ने इलाका प्रहरी कार्यालय गैँडाकोटले जानकारी दिएको छ । बेपत्ता भएका २१ वर्षीय तरुण भण्डारी बैतडी दशरथचन्द नगरपालिकाका निवासी हुन् । उनी गैडाकोट–८, कुशुमघाटस्थित राइनो वाटर इन्टरटेनमेन्ट प्रालिमा काम गर्दै आएको स्थानीयले बताएका छन् ।