विपद् व्यवस्थापनका लागि गैँडाकोट नगरपालिकामा दमकलको सेवा सुरु हुँदै
नवलपरासी पूर्व । गैँडाकोट नगरपालिकाले आपतकालीन प्रत्युत्तर क्षमता सुदृढ बनाउन नयाँ दमकल (बारुणयन्त्र) खरिद गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा विनियोजन गरिएको बजेटबाट खरिद गरिएको दमकल बाढीका कारण रसुवागढी नाकामा ढिलाइ भएको थियो । सोमबार दमकल नगरपालिकामा आइपुगेको छ । अब विपद् व्यवस्थापन सेवा थप प्रभावकारी हुने गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभएको छ । नयाँ दमकलले नगरको आगलागीको घटनाबाट हुन सक्ने जनधनको सुरक्षा गर्न ठूलो सहयोग पुग्ने नगरप्रमुख अधिकारीले बताउनुभयो ।
दमकल सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक कार्यविधि बनाएर सेवालाई प्रभावकारी बनाउने गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिनुभएको छ । नगरपालिकाले दैवी विपद् सम्बन्धी पूर्वतयारीलाई दीर्घकालीन रूपमा थप बलियो बनाउँदै लैजाने लक्ष्य राखेको छ । कार्यविधि औपचारिक रूपमा जारी नहुँदासम्म कुनै आकस्मिक घटना घटेमा मौजुदा जनशक्तिबाटै दमकल सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताउनुभयो ।
नगरपालिकाको विपद् शाखाका इञ्जिनियर शंकर कंडेलका अनुसार ९४ लाख ४४ हजार रुपैयाँ लागतमा खरिद गरिएको दमकलमा आधुनिक उपकरण तथा उच्च क्षमताका पम्पसहितको सुविधा रहेको छ ।