गैँडाकोटमा कुन कुन योजना रकमान्तर गरियो ?

२०८२ बैशाख २४ बुधबार १६:५०:०० मा प्रकाशित


नवलपरासी पूर्व । गैँडाकोट नगरपालिकाले यस आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन भएका ६ वटा योजनाहरु चैतमा आएर अन्य योजनामा रकमान्तर गरेको छ । गैँडाकोट नगरपालिकाको चैत १४ गते बसेको कार्यपालिका बैठकले वडाहरु र समितिबाट सिफारिस भइ आएका योजनाहरुलाई रकामान्तर गरेको छ । ६ वटा योजनाबाट अहिले परिवर्तन गरेर ८ वटा योजना बनाइएको छ । करिब साढे २३ लाखका योजना छन् । 

गैँडाकोट ४ ले यस अघि सिद्धिविनायक गणेश पञ्चायन मार्ग निर्माणका लागि १० लाख रुपैँया बजेट विनियोजन गरेको छ । अहिले झपर्दी टोल अन्तर्गतको बाटो नं. ४ निर्माणका लागि १० लाख बजेट रकमान्तर गरेको छ । 

गैँडाकोट ५ ले विभिन्न बाटो ग्रावेल गर्ने भनेर यस अघि ६ लाख बजेट विनियोजन गरेको थियो । अहिले नारायणी टोल अन्तर्गत आवास मार्गमा मोज्याक टायल लगाउन १ लाख र विकास टोल अन्तर्गत दाजुभाई मार्ग निर्माणमा १ लाख रकम छुट्याइएको छ । 

गैँडाकोट ७ ले नारायणी टोलमा नाली निर्माणका लागि यस अघि २ लाख रकम विनियोजन गरेको थियो । अहिले यो शिर्षकको रकम रकमान्तर गरि सफल महिला विकास मञ्चको गेट निर्माण तथा रंगरोगनमा १ लाख र जेसिज भवन देखि पूर्ण तर्फको चौपारी निर्माणको लागि १ लाख बजेट रकमान्तर गरिएको छ । 

गैँडाकोट १५ ले टोल समिति आमा समूह जनप्रतिनिधि अवलोकन भ्रमणका लागि २ लाख रकम विनियोजन गरेको थियो । यो शीर्षकको रकम रकमान्तर गरि बुद्धचोक भूमिगत सिंचाई उपभोक्ता कृषक समूहलाई पाइप विस्तार तथा च्याम्बर निर्माण २ लाख बजेट विनियोजन गरेको छ ।

यस्तै यस वडामा अमृतधारा बाबुराम न्युरेको घरदेखि श्रीखेत जोड्ने बाटो ग्राबेलका लागि १ लाख बजेट छुट्याइएको छ । यो रकम रकमान्तर गरि अमृतधारा बाबुराम न्युरेको घरदेखि श्रीखेत जोड्ने कुलोमा स्लाब निर्माणका छुट्याइएको छ । यसै वडामा अमर बोर्डिङ नजिकै सुवेदी मार्गमा मोज्याक टायलका लागि २ लाख ५० हजार रकम छुट्याएको थियो, अहिले अमर बोर्डिङ नजिकै सुवेदी मार्गमा पि.पि.सि ढलानका लागि साढे २ लाख रकम रकमान्तर गरिएको छ ।