नवलपुर क्षेत्रमा  जल पुनर्भरणमा काम गरौँ

२०८१ पौष २ मंगलबार ०६:४४:०० मा प्रकाशित



भूमिगत जल भण्डारको स्रोतको रुपमा रहेको भूमिगत पानीको सतह दिन प्रतिदिन घटिरहेको छ । अर्थात जमिन मुनिको पानी पृथ्वीको गर्भमा भासिदै गएको छ । वनका फेदीमा केही वर्ष पहिले देखिने पानीका मुहानहरु तथा धाराहरु सुक्दै गएका छन् । दुई दशकअघि बस्तीहरुका बीचमा भएका पोखरीहरु सुकेर अहिले त्यहाँ अन्य संरचना बनिसकेका पनि छन् । केही वर्षअघिसम्म हिउँदमा पनि तर्न गाह्रो हुने नारायणी अहिले फागुन चैतमा हिँडेर तर्न सकिने अवस्थामा पनि पुगेको छ । देशका मूल शहरहरुमा भूमिगत पानीको सतह घट्दै गएर पानीको समस्या देखा पर्न थालेको छँदैछ । पृथ्वीको भित्री सतहको पानी घट्नुु निक्कै चिन्ताको विषय हो । जमिनको तापक्रम सन्तुलनमा राख्न भूमिगत पानीको महत्वपूर्ण भूमिका हुन्छ । पानीको सतह भासिदै जाँदा  तराइ क्षेत्रमा ट्युबेल तथा इनारको पानी रित्तिदै गएको छ । जथाभावी पानी बोरिङ गर्ने तर पानीको रिचार्ज अर्थात पुनःभरण नहुँदा यो समस्या सिर्जना भएको हो ।  
गैँडाकोट क्षेत्रमानै हेर्ने हो भने खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरुले भूमिगत पानीको अत्यधिक प्रयोग गरेका छन् । तर खानेपानी उपभोक्ता संस्थाहरुको जल पुनःभरणका लागि योजना र बजेट छैन । खानेपानी संस्थाहरू, सामुदायिक वन तथा स्थानीय सरकारले पनि यस क्षेत्रमा कार्यक्रमहरुको सुरुवात र लगानी बढाउन आवश्यक छ । शहरि क्षेत्रमा खाली भाग नराखी घर बनाउने, घरको आँगन तथा थोरै खाली ठाउँमा समेत ढलान गर्ने र कालोपत्रे सडकका कारण जमिनले पानी सोस्न पाइरहेको छैन । अर्थात जमिनमुनिको पानी निकाल्ने काम मात्र भइरहेको छ तर जमिनभित्र पानी पस्न दिइएको छैन । त्यो तपाई हामीले नै हो । हामीले बनाउने ढलान सहितका संरचना घर, पुल पुलेसो, सडक बनाउँदा पानीको मात्रा सिधै जमिनमा छिर्न पाउँदैन । 
जल पुनःभरणको क्षेत्रमा काम गर्दा पुराना पोखरीहरूको संरक्षण र पुनरुत्थान गर्नाले पनि केही हदसम्म राम्रो हुन्छ । विभिन्न कारणले पुरिएका प्राचीन पोखरीहरूलाई मर्मत–सम्भार गरेर क्षमता बढाएमा मूलमा पानीको मात्रा बढ्न सक्छ । पुनर्भरण क्षेत्र पहिचान र पुनर्भरण संरचनाहरूको निर्माण यदि मूल सुधार्ने हो भने पुनर्भरण क्षेत्रमा वर्षाको पानी संकलन गरी भूमिगत जल भण्डारमा पानीको मात्रा बढाउने कार्य गर्नुपर्छ । 
स्थानीय समुदायको परम्परागत ज्ञान पनि पुनर्भरण क्षेत्र पहिचानमा महत्त्वपूर्ण हुन्छ । भलको गति कम गर्ने वा रोक्ने अवरोधक संरचनाहरूमा पुनर्भरण पोखरी, कुलेसो, खाल्डाखुल्डी, ससाना पर्खाल, आली, घाँसेघेरो, वृक्षरोपण, गरा सुधार, चेक ड्याम आदि पर्छन् । पुनर्भरण क्षेत्रमा वनजंगल छ भने वनभित्र रहेका खाली ठाउँ हेरी उपलब्ध ठाउँमा पोखरी, ट्रेन्च, कुलेसा र खाल्डाखुल्डी बनाउन सकिन्छ । सामान्यतया यी संरचनाहरूको आकारप्रकार उपलब्ध जमिनको क्षेत्रफल अनुसार निर्धारण गरिन्छ । पुनर्भरण क्षेत्रमा चरन छ भने कम गहिरा र चौपायामैत्री पोखरी र ट्रेन्च बनाउनुपर्छ । पुनर्भरण क्षेत्रमा खेतीपाती लगाइएको छ भने गरा सुधार गरी भिरालो बारीलाई समतल बनाउनुपर्छ । मूलको निरन्तर बहाव सुनिश्चित गर्नमा जमिन सतहका बोटबिरुवाको पनि ठूलो महत्त्व हुन्छ । सल्लो प्रजातिका रूखहरूले जमिनमुनि जाने पानीको मात्रा र वाष्पीकरणबाट माटोमा सिञ्चित पानीको परिमाण घटाउँछन् । 
भूमिगत जलभण्डार पुनर्भरण संरचनाहरूको निर्माण एकल प्रयासबाट सम्भव हुँदैन । संस्थागत संरचना निर्माण, प्रभावकारी शासन व्यवस्था, स्थानीय निकायसँग सहकार्य र महिला तथा सीमान्तकृत समुदाय आदिसहितको बृहत् जनसहभागिता आवश्यक हुन्छ ।