गैंडाकोटमा विपद् जोखिमको न्यूनिकरण गर्न नीति र बजेटमा पनि काम गरौँ
विगतका विपद्हरूको अवस्था हेर्दा गैडाकोट नगरपालिकामा विभिन्न प्रकारका प्रकोप विपद्जोखिम रहेको देखिन्छ । हरेक वर्ष नारायणी नदीमा आउने बाढी र नदी किनारको समस्या प्रमुख समस्याको रुपमा रहेको छ । अत्यधिक वर्षा भएमा यस नगरपालिका भित्रका खहरे खोलाहरुमा आउने बाढी पनि समस्यकै रुपमा रहेको छ । नदी तथा खहरे खोलाको कटान र डुवानका कारण यस नगरपालिकाले वर्षेनि जनधनको क्षति व्यहोर्दै आएको छ । गत वर्ष नारायणी पुलबाट दक्षिण तर्फ नारायणी किनारमा केही तटबन्धनको कामले केही राहत दिएपनि यो प्रयाप्त भने छैन । भरतपुरतर्फ अत्याधिक तटबन्धन भइरहेको छ । गँैडाकोट तर्फको तटबन्धनमा पनि अझै प्रभावकारी समन्वय र कार्यसम्पादन गर्न बाँकी रहेको छ । यता तर्फ जनप्रतिनिधिलाई आराम गर्ने कुनै छुट देखिदैन । नीति र बजेटमा पनि सम्बोधन हुने गरी प्रदेशदेखि संघसरकारसमक्ष समन्वयको काम गर्न जरुरी छ ।
यसका अतिरिक्त पूर्वपश्चिम राजमार्ग यस नगरपालिकाको बीच भागमा रहेका कारण सडक दुर्घटनाका घटनाहरु बढीरहेका छन् । नारायणगढ बुटवल सडक खण्ड निर्माणाधिन अवस्थामा रहेको छ । समयमा निर्माण नहुँदा यसले पनि दुर्घटना बढाइरहेको छ । निर्माण सम्पन्न भएपश्चात् पनि खुकुलो र ठूलो सडकमा हुने तीव्र गतिका कारण दुर्घटनाका घटना बढ्ने सम्भावना प्रवल नै रहेको हुन्छ । सडक दुर्घटनाको जोखिम बढ्दा मानवीय क्षति पनि स्वभाविक रुपमा बढ्दै जाने प्रष्ट देखिन्छ । अहिले पनि यस नगरपालिका भित्र सबैभन्दा बढी मानवीय क्षति सडक दुर्घटनाका कारण भएको देखिन्छ ।
त्यसैगरी बाढीले वडा नं. १ को ब्रिटिश क्याम्प क्षेत्रमा यस वर्ष बाढी पसेर हर्दि जानेबाटोमा रहेको पीच नै बगाएको छ । वडा नं. २ मा २०० भन्दा बढी घर डुवाउने र नजिकको विद्यालयमा २÷३ दिन आश्रयस्थलमा राख्नुपर्ने बाध्यता पनि रहेको छ । हरेक वर्ष धेरै जसो घरहरुमा क्षति पु¥याउँदै आएको छ । गँैडाकोट ६÷७ मा खेतियोग्य जमिनहरु वालुवामा परिणत गरेको सत्यलाई हिउँदमा भुल्नु हुँदैन । ढल निकास राम्रोसँग नहुँदा वडा नं. ४ मा कुनै समय ४८५ बढी घर डुवाएको भुल्नु हुँदैन । कटानले धेरै खेतियोग्य जमिनहरु वगाउने तथा डुवाउने गरेको तितोसत्य नै छ । यस नगरपालिकाको उत्तरी क्षेत्र पहाडी भूभाग पर्ने भएकोले पहिरोले क्षति पुर्याउने संभावना देखिन्छ ।
डेङ्गु र फ्लुका समस्याहरु हरेक वर्ष दोहोरिरहेका छन् । हरेक वर्ष वन डढेले ठूलै समस्याको रुपमा बढ्दै गएको छ । यस नगरपालिका क्षेत्रमा वन जङ्गलहरु धेरै भएको र चितवन राष्ट्रिय निकुञ्जको भाग समेत यस नगरपालिकामा पर्ने भएको कारणले गर्दा जंगली जनावरको आक्रमण भइनै राख्ने र यसले मानिस, पशुपन्छी लगायत खेतिवाली समेत क्षति पुर्याएको पाइन्छ । यता तर्फ पनि नगरपालिकाले चासो पूर्वक काम गर्नुपर्ने देखिन्छ । समुदायस्तरमा जनचेतना निर्माणका लागि पालिकाले खासै चासो देखाएको देखिदैन । स्थानीय मिडियाको परिचालनबाट जनचेतना निर्माण, स्थानीय संघसंस्थाहरुको परिचालनबाट विपद् न्यूनिकरणका काम गर्न योजना र बजेट निर्माणमा पालिकाले गृहकार्य बढाउन आवश्यक छ ।
मानविय क्षतिका आधारमा यस नगरपालिकामा हरेक वर्ष दोहोरिन सक्ने विपद्मा बाढी, डुवान र कटान, सडक दुर्घटना, वन्यजन्तुको आक्रमण, पहिरो र आगोलागी रहेका छन् । यसका अलावा सर्पदंश, चट्याङ, हावाहुरी, नदी कटान, शीतलहर, करेण्ट लाग्नु र औद्योगिक दुर्घटना जस्ता प्रकोपका घटनाहरु छन् । तुलनात्मक रुपमा यस नगरपालिकाभित्र मानवीय कारणले उत्पन्न हुने प्रकोपका कारण विपद्निम्तिने खतरा रहेको छ ।
तुलनात्मक रुपले हेर्दा यस नगरपालिका भित्र सडक सञ्जालले सबै वडाहरुमा छोएको र पूर्व पश्चिम राजमार्ग बीच भागमा अवस्थित रहेको हुनाले सडक दुर्घटनाको उच्च जोखिम रहेको छ । यस्ता जोखिमहरुको न्यूनिकरणका लागि पालिकाले नीति र बजेटमा काम गर्न आवश्यक छ । विगतमा घटेका घटनाहरु विश्लेषण गर्दा विपद्का घटना मंसिर, पौष र माघमा निकै कम घटेको पाइन्छ । यही बेलामा पैरवी मार्फत नीति निर्माण र बजेटका आधारहरु तय गर्दै न्यूनिकरणका क्रियाकलापमा जोड दिने सके धेरै राम्रो हुनेछ ।