हरिहर मन्दिरमा गैंडाकोट प्रहरीको सक्रियतामा सरसफाई तथा वृक्षारोपण 

२०८१ असोज २० आइतबार ०६:२४:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ७ मा रहेको श्रीहरिहर मन्दिर परमानन्द सन्न्यास आश्रममा सरसफाई तथा वृक्षरोपण गरिएको छ । 

इलाका प्रहरी कार्यालय गैंडाकोटको सक्रियतामा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । हिन्दुहरूको महान पर्व विजयादशमीको अवसरमा घटस्थापनादेखि मन्दिरमा नवदुर्गा भवानीको पूजा अर्चना समेत भइरहेको छ । 

यहाँ आउने भक्तजनहरूलाई सहज होस्, मन्दिरको सुन्दरता बढोस् र लागुपदार्थ दुव्र्यसनीका घटनाहरूको दृष्टिकोणले पनि यस क्षेत्र संवेदनशील भएको हुनाले वरपर रहेका झाडीहरू सरसफाइमा ध्यान दिनुपर्ने बताउँदै इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक कमला नरालले सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको बताउनुभयो ।

सरसफाई तथा वृक्षरोपण कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष होमनाथ सापकोटाले लागुपदार्थ तथा चोरीका घटनाहरूका कुराहरूमा अन्य ठाउँमा भन्दा बढी संवेदनशील भएको र यस वडामा इलाका प्रहरी कार्यालय गैडाकोट बाट  यस्तो कार्यक्रम पहिलोपटक भएको बताउँदै प्रहरी टोलीलाई धन्यवाद दिनुभयो ।

इलाका प्रहरी कार्यालय गैंडाकोट प्रमुख कमला नरालको कमाण्डमा आएका प्रहरीहरु र स्थानीय बासिन्दाहरूको सहयोगमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम भएको हो । कार्यक्रममा कार्यपालिका सदस्य ईश्वरी जिसी, जनप्रतिनिधि तारा त्रिपाठी लगायतको उपस्थती रहेको थियो ।