गैँडाकोट पम्पिङको निर्णय : सरकारी स्कुललाई २५ प्रतिशत छुट, छुटको रकम सरसफाईमा लगाउनुपर्ने
गैँडाकोट । गैँडाकोट पम्पीङ स्कीम खानेपानीले गरिब विपन्न समुदायका लागि साझेदारी लगानीमा धारा जडान गर्ने निर्णय गरेको छ । संस्थाको १८ औँ साधारण सभाले यस्तो निर्णय गरेको संस्थाका सचिव केशवराज शर्माले विजय एफएमलाई बताउनुभयो । शर्माले भन्नुभयो “ खानेपानीको कार्यक्षेत्रभित्रका गरिब तथा विपन्न समुदायका उपभोक्तालाई स्थानीय सरकारले ५० प्रतिशत र खानेपानीको तर्फबाट ५० प्रतिशतको साझेदारी लगानीमा खानेपानी धारा जडान गर्ने निर्णय गरिएको छ ।”
ओभरहेड ट्याङ्की, गोदाम घर र पानी छान्ने विधिका लागि प्रेसर फिल्टर जडान गर्ने कार्यका लागि मंसिर महिनाभित्रमा डिपिआर तयार गरिने समेत साधारण सभाले पास गरेको छ । साधारण सभाले अर्को महत्त्वपूर्ण निर्णय समेत गरेको सचिव शर्माले बताउनुभयो । उहाँले भन्नुभयो “ सेवा क्षेत्रभित्रका सरकारी विद्यालयमा खानेपानीको बार्षिक खपत युनिटको २५ प्रतिशत रकममा छुट दिइने निर्णय गरिएको छ, हामीले दिएको छुट रकम विद्यालयले सरसफाईको क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ ।”
गैँडाकोट पम्पीङ स्कीम खानेपानीका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले उपभोक्ताको अघि उभिएर आगामी २० वर्षका लागि पानीको वितरणमा समस्या नभएको बताउनुभयो । खुसीको उमङ्गका साथमा अध्यक्ष न्यौपानेले भन्नुभयो “यस पम्पिङ्गको कभरेज क्षेत्रमा २० वर्षका लागि पिउने पानीको थप समस्या आउने छैन भन्ने कुरा म ढुक्क साथ भन्न सक्दछु ।” अध्यक्ष न्यौपानेले पम्पिङ गरि निकालिएको पानी विजुली वा अन्य व्यवस्थापनका कारण केही महङ्गो पर्ने संकेत गर्दै खोला नदीको पानीको स्रोतको पहिचान गरिने बताउनुभयो । नेपाल सरकारसँग सहलगानीमा काम अघि बढेको बताउँदै अध्यक्ष न्यौपानेले भन्नुभयो “ एक ओभरहेड ट्याङ्की, गोदाम घर र पानी छान्ने विधिका लागि प्रेसर फिल्टर जडान गर्न आवश्यक महशुस गरी संघिय खानेपानी विभाग पानी पोखरी काठमाण्डौँमा ४५÷५० करोड बराबरको प्रोजेक्टको माग गरी हाललाई सर्वेको निम्ति ४० लाख समेत परेको छ ।”
संस्थाका उपाध्यक्ष कृष्ण सापकोटाले खानेपानी वितरण प्रभावकारी बनाउन संस्थाले विभिन्न कदम चालेको बताउनुभयो । उपाध्यक्ष सापकोटाले उपभोक्तालाई आग्रह गर्दै भन्नुभयो “ खानेपानी सम्बन्धी समस्यालाई समाधान गर्न र खानेपानी वितरण भएको ठाउँमा कहि कतै चुहावट भएमा संस्थाको फोन नं. ०७८ ५०२३४५, ५०२३४० र टोल फ्रि नं. १६६०७८५२५५५ उपलब्ध गराएको छ ।”
शुक्रबार संस्थाकै परिसरमा १८ औँ साधारण सभाको प्रतिवेदनमा सचिव केशवराज शर्माले महत्त्वपूर्ण विषय उठान गर्नुभयो । उहाँले भन्नुभयो “ भूमिगत पानीको प्रयोग बढ्नु, बढ्दो भौतिक पूर्वाधार निर्माण हुनु र पानीको भूमिगत सतह घट्नुले जलपुनर्भरणको (रिचार्ज) चुनौती थपिएको छ । पानीको संरक्षणका लागि पुनरभरण साथै वैकल्पीक स्रोतको खोजी गर्नुपर्ने भएको छ ।” सचिव शर्माले जलवायु परिवर्तन, बढ्दो सहरीकरण, सरोकारवाला निकायको नीति परिवर्तन र सडक विस्तार संस्थाका लागि चुनौती रहेको बताउनुभयो । शर्माले भन्नुभयो “खानेपानीका सबै पम्पहाउसमा १० वटा फायर हाइड्रेन जडान गरिएको छ, यसले यस क्षेत्रको संभावित आगलागिको क्षति न्यूनिकरणका लागि सहजता थपेको छ ।”
संस्थाका कोषाध्यक्ष श्रीराम सुवेदीका अनुसार संस्थाले आर्थिक वर्ष २०८०÷८१ मा ५८ लाख १२ हजार ६ सय ६५ रुपँैया बचत गर्न सफल भएको छ । संस्थाले सो आर्थिक वर्षमा ३ करोड ४५ लाख २३ हजार ६ सय ७७ आम्दानी र २ करोड ८७ लाख ११ हजार १२ रुपँैया खर्च गरेको छ । कोषाध्यक्ष सुवेदीको रिपोर्ट अनुसार पानीको महसुलबाट मात्र २ करोड २१ लाख ११ हजार ९ सय ४० रुपैँया आम्दानी गरेको छ ।
प्रतिवेदनमा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक सुनिता लम्सालले कार्यालय व्यवस्थापन तथा समिति उपसमितिका समन्वयत्मक बैठक राख्न सुझाब दिनुभएको छ ।
खानेपानी सुरक्षा समितिका संयोजक कृष्णप्रसाद काफ्लेले सुरक्षित खानेपानी वितरणका लागि योजनागत रुपमा क्रियाशील रहेको बताउनुभएको छ । विभिन्न क्लष्टहरुमा सचेतना फैलाउनुका साथै पानी सुरक्षा योजनालाई निरन्तरता, पारदर्शी र उपभोक्ता मैत्री बनाउने बताउनुभयो ।
गैंडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १८ औं वार्षिक साधारणसभामा उपस्थित नगरप्रमुख मदनभक्त अधिकारीले वातावरणको विनाश गर्दा पानीको समस्या हुन सक्ने भएकोले सचेत रहन आग्रह गर्नुभयो । गैंडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाइ संस्थाले धेरै राम्रो कार्य गरेको र आगामी दिनहरुमा पनि पानीमा अझै शुद्धता लयाएर नयाँ योजनाका साथ कार्य अघि बढाउन सुझाव दिनुभयो ।
कार्यक्रम स्थलमा भेटिएका गैँडाकोट पम्पीङ स्कीम खानेपानीका उपभोक्ता गँैडाकोट २ का विष्णुप्रसाद शर्माले पानीमा चुना देखिएको हुँदा यसको विकल्पमा संस्थाले फिल्टरका योजना ल्याउन सुझाब दिनुभएको छ । अर्का उपभोक्ता खुमनाथ पौडेलले खानेपानीको महशुल दर रेट घटाउन सुझाब दिनुभएको छ । गँैडाकोट ५ की लिला चालिसेले खानेपानीको वितरण राम्रो रहेको विजय एफएमलाई बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अमृत भट्टचन, जनक नमुना माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
गैँडाकोट नगरपालिकाका प्रशासकीय अधिकृत झविन्द्र खनाल, वडा नम्बर २ का वडा अध्यक्ष प्रकाश सापकोटा लगायतको उपस्थिति रहेको थियो ।