गीत सुन्नै नसकिने, भिडियो हेर्नै नसकिने
पात्रो नै पल्टाएर हेर्ने हो भने भर्खर नाग पञ्चमी सकिएको छ, जनैपूर्णिमा आउने क्रममा छ, कृष्ण जन्माष्टमीले पालो पर्खिरहेको छ । यता गाउँघर भने तीजमय बनिसकेको छ । रेडियो, मोबाइल, टिभी जहाँतहीँ तीजका भाका घन्किएका छन् । तीज गीतले बजार तताएसँगै विरोधका स्वरहरु पनि चर्किएका छन् । गीत सङ्गीतले भ्युज र पैसालाई मात्रै हेर्ने कि संस्कृति, परम्परा र समाजमा पर्न सक्ने नकारात्मक प्रभावलाई पनि ख्याल गर्ने ? बजारमा पछिल्लो समय चर्चामा आएका तीज गीतले यो विषयमा गम्भीर बहस गर्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ । पर्व विशेषसँग जोडिएर आउने गीतसङ्गीतले त्यस पर्वको मर्मलाई सजीव तुल्याउन सक्नुपर्छ । ताकि ती गीतसङ्गीत सुनेर भावी पुस्ताले पनि हाम्रो पर्वको मर्मलाई बुझ्न सकून् र आफ्नो परम्परा र संस्कृतिलाई युगौँयुगसम्म बचाएर पुस्ता हस्तान्तरण गर्न सकून् । युटुबमा ट्रेन्डिङ्मा पर्ने लोभमा कलाकारले आफ्नो मर्यादा नै बिर्सिएर लाजलाई पनि लाज लाग्ने गरि उच्शृङ्खल प्रस्तुति दिनु आफैमा लज्जाको विषय बनेको छ।
पछिल्लो समय दिउँला बरिलै’, ‘मादलु घन्काउँदै’, ‘टिकटकमा भाइरल हल्लाएरै’, ‘बिस्ताराले पोल्यो’, ‘चियर्स बियर’ लगायतका दर्जनौँ गीतहरुको तीव्र विरोध भएको देखिन्छ।
आखिर किन विदादित बने यी गीतहरु ? र यसमा दोषी को ?
सर्जकले गीत सिर्जना गरे, गायक गायिकाले स्वर भरे, निर्देशकले भिडियो बनाए, दर्शकले हेरे । झट्ट हेर्दा दोषी कोही नदेखिए पनि अप्रत्यक्ष रुपमा हामी सबै दोषी नै हौँ । सबैभन्दा पहिले त गीत सिर्जना गर्दा नै सर्जक सचेत बन्नु जरुरी छ । द्विअर्थी शब्द प्रयोग हुनु आफैँमा गलत होइन । सर्जक अभिधाको तहमा मात्रै नभएर लक्षणा र व्यञ्जनाको तहसम्म पनि पुग्न पाउँछ तर ती शब्दले समाजमा पार्ने प्रभाव नकारात्मक हुनु हुँदैन । सर्जक पनि यही समाजमै रहने हुनाले समाज बुझेर गीत सिर्जना गर्नुपर्छ । गायक गायिकाले पनि गीतका शब्द शब्द केलाएर ठीक छ भन्ने लागेमा मात्र स्वर दिएमा यस्तो विरोधको सामना गर्नुपर्दैन । सस्तो लोकप्रियताका लागि जस्ता गीत पनि गाइदिने गर्दा नाम स्थापित गरेर दर्शक श्रोताको मन जितेका कलाकार पनि विवादित हुनु साँच्चै नै दुः खद छ । गीतका शब्दसम्मलाई त द्विअर्थी हुन् भनेर चित्त बुझाए पनि तिनै गीतमा बनेका भिडियोले भने गीतसङ्गीत क्षेत्रलाई नै बदनाम बनाइदिएका छन् । परिवारका सदस्यहरु सबैजना सँगै बसेर सुन्नै नसकिने गीत अनि हेर्नै नसकिने भिडियोले युटुबमा भ्युज त बढाए होला तर नेपाली गीत सङ्गीतको महत्ता र महिमालाई भने पछारिदिएको छ।
कलाकार भनेका राष्ट्रका गहना हुन् । कला बाँचे मात्रै राष्ट्र बाँच्छ। भाइरल हुने होडबाजीमा आफ्नो मर्यादा नै बिर्सनु यो कुनै पनि कलाकारका लागि शोभनीय कुरा होइन।
बढ्दो व्यावसायिक बजार र प्रतिस्पर्धाले पनि नेपाली सङ्गीतको मौलिकता गुम्दै गएको भान हुन थालेको छ । तीज गीतमा प्रयोग हुने माइतीघर र कर्मघरको विम्ब हराइसकेको छ । युवायुवतीबीच हुने प्रेमको हलुका विषय र उच्शृङ्खलता एवम् छाडापनले तीज गीतमा ठाउँ लिएको छ । यस्तो अवस्थाले कतै हाम्रा लोक परम्परा र मौलिकता नै हराउने हो कि भन्ने चिन्ता सर्वत्र फैलिएको छ । यसका लागि हामी सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ ।सर्वप्रथम त स्वयम् सर्जक तथा कलाकारले आफैले आफैलाई सेन्सर गर्नुपर्छ। समाजलाई नै खलल पुर्याउने किसिमका गीत सङ्गीतलाई दर्शक श्रोताले पनि बहिष्कार गर्न सक्ने ल्याकत राख्नुपर्छ । नियमनकारी निकायको भूमिका यसमा अझ महत्त्वपूर्ण हुन जान्छ। गीत सार्वजनिक भएर समाजमा नकारात्मक प्रभाव पारेपछि प्रतिबन्ध लगाउनुभन्दा पनि हरेक गीतलाई सेन्सर गरेर मात्र सार्वजनिक गर्ने वातावरण सिर्जना गरेमा गीत सङ्गीत क्षेत्रका विकृति पनि हट्दै जाने थिए र मौलिक परम्पराले प्रश्रय पाउने थिए ।