नारायणी वनले गरीब विपन्न उपभोक्तालाई रोजगारदेखी इन्डक्सन चुल्होमा अनुदान दिने
गैंडाकोट । गैँडाकोट ६, ७ र ९ कार्यक्षेत्र रहेको नारायणी सामुदायिक वन उपभोक्ता समूहले गरीब विपन्न परिवारको सूचिकृतको आधारमा विभिन्न कार्यक्रम तय गर्ने जनाएको छ ।
सोमबार भएको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धी तर्जुमा गोष्ठीमा समूहका सचिव उमा पाण्डेले गरीब विपन्न उपभोक्ता सदस्यहरुलाई निश्चित समयको लागि रोजगारको व्यवस्था मिलाउने गरी अघि बढ्न लागेको बताउनुभयो । उहाँले भदौमा बस्ने साधारण सभामा प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा उक्त योजना प्रस्तुत गर्ने बताउनुभयो । वनका कोषाध्यक्ष नेत्रराज सापकोटाले सूचिकृत गरीब विपन्न परिवारका लागि कार्यक्रम सञ्चालन गर्न १० लाख ३२ हजारको हाराहारीमा बजेट विनियोजन गर्न लागिएको बताउनुभयो ।
समूहले गरेको उपभोक्ता सदस्यहरुको स्तरीकरण सर्भे अध्ययनबाट वन क्षेत्रमा ६५ घरधुरी गरीब विपन्न परिवार रहेको जनाइएको छ । १० वर्षअघि वन क्षेत्रमा २६२ घरधुरी गरीब विपन्नमा सूचिकृत थिए ।
वर्षभरि सञ्चालन गरिने कार्यक्रमका सम्बन्धमा सरोकारवालाहरुसँग सोमबार छलफल गरेको हो । समूहको सभाहल गैँडाकोट ७ मा आयोजित वार्षिक कार्यक्रम एवं कार्यशाला गोष्ठीमा विद्युतीय इन्डेक्सन चुल्होमा अनुदान, राहतकोषमा रकम वृद्धि, वन संरक्षणका लागि जंगलभित्र पानीको मूहान रहेको क्षेत्रमा इन्टेक बनाइ खानेपानी धारा राख्ने, वन विकासको कार्ययोजना बनाउने, अग्नि नियन्त्रणका लागि सामग्री खरिद लगायतका कार्यक्रम ल्याउन सुझाव आएका छन् । समूहका अध्यक्ष दिनानाथ त्रिपाठीले अबका कार्यक्रम सोही अनुरुप हुने बताउँदै आएका सुझाव नीति तथा कार्यक्रममा समावेश गरिने बताउनुभयो ।
कार्यक्रममा गैँडाकोट ७ का वडा अध्यक्ष होमनाथ सापकोटाले समुदायमा हुने लगानी एकद्वार प्रणालीबाट गर्न सके प्रभावकारी हुने बताउँदै आयमुलक कार्यक्रममा जोड दिन आग्रह गर्नुभयो । उहाँले विकास निर्माण कार्यमा वडा र वन हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
गैँडाकोटको विधायन समितिका संयोजक ज्ञानप्रसाद खनालले टोल विकासका लागि काम गर्न सुझाव दिदैँ गरीबी निवारणका कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।
सब डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सूर्यसिंह गुरुङले ऐनमा महिला सम्बन्धी विशेष व्यवस्था रहेकोले महिला सशक्तिकरणका छुट्टै शिर्षक राखेर कार्यक्रम गर्न सुझाव दिनुभयो । वनका आर्थिक कारोबार मान्यता प्राप्त बैंकबाट गर्न उहाँको सुझाव थियो ।
वनका संस्थापक अध्यक्ष एवं सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष खगराज सापकोटाले ऐन, नीति नियम र व्यवहारिक सबै पाटो हेनुपर्ने बताउँदै सोही अनुरुपका कार्यक्रम गर्न सुझाव दिनुभयो । थोरै तर प्रभावकारी कार्यक्रम सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो ।
महिला सशक्तिकरण, गरीब तथा जीविकोपार्जनका क्षेत्रमा सकरात्मक नतिजा दिने र दिर्घकालिन हुने खालका कार्यक्रम ल्याउनुपर्ने सहभागीले बताएका थिए । यसका अलवा समूहले हाइटेन्सन लाइनमुनिको खाली जग्गामा डाँले घाँस, नेपियर, अदुवा, बेसार, सिमले तरुल, उँखु रोपण कार्यलाइ निरन्तरता दिने जनाइएको छ । गुरुयोजना अनुसार थुम्सी स्थित वातावरणमैत्री उद्यानलाई थप व्यवस्थित गराइने जनाइएको छ ।
वनले यहि भदौ ८ गते वार्षिक साधारण सभा गर्ने तयारी गरेको वनका कार्यालय सचिव हरिप्रसाद सापकोटाले जानकारी दिनुभएको छ । वनका उपाध्यक्ष वेदप्रसाद चालिसेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा लेखा संयोजक अग्निप्रसाद सापकोटा, समिति, उपसमिति सदस्यहरुको उपस्थिती रहेको थियो ।