गैँडाकोटमा भानुभक्त र घाँसीप्रति सम्मान व्यक्त

२०८१ असार २९ शनिबार १२:१३:०० मा प्रकाशित

गैँडाकोट । २११औँ भानु जयन्तीका अवसरमा गैँडाकोटमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य र उनलाई कविता लेख्न प्रेरित गर्ने घाँसीप्रति उनीहरूको योगदानको स्मरण गर्दै सम्मान प्रकट गरिएको छ । 

गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदीको प्रमुख आतिथ्यमा भानु चोकमा सम्पन्न उक्त कार्यक्रम गैँडाकोट नगरपालिका वडा नम्बर ६ स्थित भानुभक्त टोल विकास समितिले आयोजना गरेको थियो । प्रमुख अतिथि गोविन्दराज विनोदीले भानु पार्कमा छानाको समेत व्यवस्था गरिनुपर्ने र भानु पार्क समितिको उद्देश्यलाई विस्तार गरी भानु अध्ययन केन्द्रको स्थापनाका लागि अग्रसर हुनुपर्ने जनाउँदै भानुभक्तलाई आदिकवि भानुभक्त बनाउने प्रमुख कारक व्यक्तित्व घाँसीप्रति पनि सम्मान व्यक्त गर्नुपर्ने कवितात्मक विचार प्रस्तुत गर्नुभएको थियो । 

उक्त कार्यक्रममा भानुभक्तको जीवनी र योगदानका बारेमा संक्षिप्त प्रकाश पार्दै सहप्राध्यापक डा. मतिप्रसाद ढकालद्वारा भानु जयन्तीको परम्परा सर्वप्रथम दार्जिलिङबाट सुरु भएको र भानुभक्तका समग्र रचनाहरूको अध्ययन अनुसन्धानमा जागरूकता ल्याउँदै जनबोलीलाई साहित्यिक उचाइ दिने भानुभक्तप्रति सच्चा सम्मान गर्न नेपाली भाषालाई समेत सबै नेपालीले सम्मान गर्नुपर्ने विचार प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी भानुभक्त आचार्यका छोरा रमानाथ आचार्यका छोरीतर्फका नाति माधवप्रसाद भारद्वाजले आफ्नै आमाबाट सम्पूर्ण भानुभक्तीय रामायण तथा भानुभक्तका अन्य रचनाहरू सुनेर आफूलाई कण्ठ भएको जनाउँदै भानुभक्त र घाँसीलाई समानरूपमा सम्मान गर्नुपर्ने कवितात्मक विचार प्रस्तुत गर्नुभएको थियो । 

भानु पार्कमा रहेर भानु जयन्ती मनाउने बेलामा प्रत्येक वर्ष वर्षाका कारण समस्या पर्ने गरेकाले त्यहाँ दुवै छेउमा छानो लगाउनुपर्ने आवश्यकता रहेकाले ‘भानुलाई छानो’ अभियानमा आफ्ना तर्फबाट दुई हजार रूपैयाँ आर्थिक सहयोगको शुभारम्भ गर्नुभएको थियो । 

भानुभक्त टोल विकास समितिका अध्यक्ष पद्मा सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष इन्द्रराज पौडेल,  टंकप्रसाद ढकाल ‘तीतेपाती’, उदयनाथ रेग्मी, शोभा खनाल कोइराला, भूमिका गैरे तिमल्सिना, गीतादेवी शर्मा, गोकुल सापकोटालगायतका कविहरूले कविता वाचन गरी भानुभक्तप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको थियो ।