नयाँ शैक्षिक सत्रमा विद्यालय छनोट कसरी गर्ने ?

२०८१ असार १८ मंगलबार १०:३०:०० मा प्रकाशित

वर्तमान समयमा रूपान्तरणका नाममा विभिन्न किसिमका विकृतिबाट समाज अछुतो रहन सकेन । अझै भयाङ्कर रुपमा जर्जर अवस्था शिक्षा क्षेत्रमा देखिदैँ छ । नैतिक शिक्षाको खडेरी विद्यार्थीमा लाग्दै छ । मानव जीवनका लागि अपरिहार्य सभ्यताको परिचायकको रुपमा रहेको शिक्षा आज गुणस्तरभन्दा बढी व्यापारतिर ढल्केको छ । विद्यार्थीले शिक्षा आर्जन गर्ने स्थल घरपरिवार, समाज, विद्यालय तथा विश्वविद्यालय हुन् । ज्ञान, वुद्धि, विवेक, संस्कार आदि प्रवाह गरेर व्यक्तिको व्यक्तित्व विकास गर्ने प्रमुख स्रोत नै शिक्षा हो । यो औपचारिक तथा अनौपचारिक रुपमा चलिरहेको हुन्छ । औपचारिक शिक्षाका लागि विद्यालय तथा विश्वविद्यालयमा गएर लिने प्रचलन रहेको छ । समयसापेक्ष औपचारिक रुपमा विद्यालय गएर लिने शिक्षाले विद्यार्थी जीवनको गोरेटो तय गरिदिएको हुन्छ । अनौपचारिक रुपमा घरमा सिकेको ज्ञानको प्रभाव विद्यालयमा गएर पर्छ भने विद्यार्थीले विद्यालयबाट सिकेको ज्ञानको प्रभाव घरमा व्यवहारिक रुपमा परेको हुन्छ । त्यसका लागि आफ्नो बालबालिकाको लागि नयाँ शैक्षिक सत्रमा कस्तो विद्यालय छान्नु उपयुक्त हुन्छ भन्ने कुरातर्फ ध्यान दिनु अभिभावकको दायित्व हो । एस.ई.ई. दिएर बसेका विद्यार्थीहरुले उच्च माध्यमिक शिक्षाका लागि कस्तो विद्यालय छान्ने भन्ने अन्योल उत्पन्न हुन्छ । 

नयाँ शैक्षिक सत्र २०८१ को कक्षा १–९ विद्यालय तर्फको भर्ना अभियान सकिए लगत्तै एस. ई.ई. दिएर बसेका विद्यार्थी उच्च माध्यमिक तह कक्षा ११ मा भर्ना गर्ने अभियान सुरु हुन्छ । विद्यार्थी एस.ई.ई.को तयारीमा बसेको बेला होस् वा परीक्षा हलबाट बाहिर निस्कन नपाउँदै उच्च माध्यमिक तह कक्षा ११ मा भर्नाको लागि आ–आफ्नो विद्यालयको प्रचार–प्रसार लिएर  गेट गेटमा ठूलै प्रचार–प्रसार गरिरहँदा अझै उनीहरुको मानसपटलमा कलेजप्रतिको आकर्षक बढेको हुन्छ । त्यहीबाट विद्यार्थीहरुलाई मानसिक दबाव सुरु हुन्छ । कुन विद्यार्थी र कुन विद्यालयको नतिजा कस्तो आउने हो थाहा छैन् ।  

त्यो उमेर समूहका विद्यार्थीहरूले केही स्वतन्त्रता चाहेका हुन्छन् । कसैको नियन्त्रण उनीहरूलाई मन पर्दैन । घरपरिवारभन्दा साथीसङ्गत मन पर्छ । उनीहरू परिपक्व भैसकेका हुँदैनन् । चौधदेखि सोह्र÷सत्र वर्ष उमेर समूहलाई त्यति परिपक्व मानिदैन । समयको गतिसँगै  मोबाइल ल्यापटप लगायत विभिन्न किसिमका प्रविधियुक्त सामग्रीतर्फ बढी ध्यान जाने समय हो । विद्यार्थीहरुलाई राम्रो मनोपरामर्सको अभावले यी साधनको दुरुपयोग गर्दा ठूलै जनधनको क्षति बेहोर्नु परेको ज्वलन्त उदाहरण पनि देखिन्छन् । मोबाइलको प्रयोगले बालबालिकाहरुको सिर्जनात्मक क्षमतामा ह्रास आइरहेको छ । त्यतातिर मध्यनजर राख्नु अहिलेको नितान्त आवश्यक छ । उनीहरुले घरपरिवार, समाज, साथीसङ्गत कस्तो छ त्यसको सिको गरिरहेका हुन्छन् । अभिभावकको मनोभावना छोराछोरीले बुझ्दैनन् भने कतिपय अभिभावक पनि छोराछोरीको मनोभावना बुझेर लागेको देखिदैन । त्यसको प्रभाव बढी यही उमेर समूहलाई पर्ने गर्छ । अभिभावकले छोरालाई कतिसम्म स्वतन्त्रता दिने कस्तो विद्यालय पढाएर के हुन्छ भन्ने राम्रो हेक्का नराख्ने र विद्यार्थीहरु पनि आफ्नो आवश्कताको स्वतन्त्रता के हो भन्ने छुट्याउन सकेन भने अहिलेको विश्व बजारको आवश्यकता अनुसारको लागि उपयुक्त हुन सक्दैन । 

त्यसैले एस.ई.ई. दिएर बसेका छोराछोरीहरुका लागि कस्तो शिक्षा आवश्यक पर्छ भन्ने तर्फ अभिभावक सचेत हुनुपर्छ । विज्ञानको आविष्कार हो अथवा समयको चमत्कार हो अहिले विश्व पूर्णरुपमा सञ्चारमा विकसित भएको छ । समयसापेक्ष विकसित देश र विकासोन्मुख देशमा शिक्षाको प्रभाव विद्यार्थीहरुलाई परेको हुन्छ । स्वदेश तथा विदेशमा उसको  जीविकोपार्जन गर्ने शैलीमा परेको छ । अबको माध्यमिक शिक्षा परम्परागत रुपमा चलेको भन्दा फरक हुनुपर्छ । विश्वको जुनसुकै कुनाकाप्चासम्म पुगेर पनि आफूलाई उभ्याउन सक्ने व्यवहारिक शिक्षण सिकाइबाट विद्यार्थी निपुण हुनुपर्छ । शिक्षण विधिमा परम्परागत शैलीलाई अपनाउनु उपयुक्त हुँदैन । विद्यार्थीलाई किताबको किरो बनाएर उही पुरानो शैलीमा कक्षा उत्तीर्ण गराउने शिक्षण विधिले अहिलेको विद्यार्थीको आवश्यकता पूर्ति हुँदैनन् । उच्च शिक्षा पढाउन कस्तो विद्यालय छान्ने भन्ने ज्ञान विद्यार्थी र अभिभावक दुवैलाई हुनुपर्छ । पढाइ भनेको पूर्णरुपमा सिपमूलक हुनुपर्छ । कक्षा उत्तीर्ण गराउनु ठूलो कुरा होइन । कक्षा उत्तीर्ण गर्दा सर्टिफिकेटको नम्बरभन्दा उसको दक्षताको मापन गर्नुपर्छ । यहाँ अझै कुन स्कूल वा कलेजमा कति प्रतिशत विद्यार्थी उत्तीर्ण भए भनेर बुझ्नुभन्दा पहिले कुन स्कूल वा कलेजको विद्यार्थीले ४ जिपिए कति ल्याए भन्ने प्रचलन छ । जिपिएभन्दा शत प्रतिशत विद्यार्थीहरुले संस्कारसहित सिपमूलक सिकाइको ज्ञान लिए वा लिएनन् त्यतातिर अभिभावक तथा सरोकारवालाहरुको ध्यान जान सकेको छैन । त्यो अभिभावक तथा सरोकारवालाहरुको मात्र दोष होइन । समग्र नेपालको शिक्षा प्रणाली अनि पाठ्यक्रममा आधारित मूल्याङ्कन प्रणाली पनि उत्तिकै जिम्मेवार रहन्छ । अब कस्तो शिक्षण सिकाइ क्रियाकलापको खाँचो छ र उसको रुचि केमा छ त्यो मनोभावना बुझेर अभिभावकले छोराछोरीका आवश्कतालाई पूत्र्ति गरिदिनु पर्छ । उच्च माध्यमिक तहसम्मका बालबालिका भनेका काँचो माटो सरह हुन् । उनीहरूलाई कस्तो बनाउने भन्ने अभिभावक अनि शिक्षकहरुको हातमा रहेको हुन्छ । अभिभावक, विद्यार्थी  शिक्षक अनि पाठ्यक्रमको तालमेलसँग संस्थागत होस् वा सामुदायिक विद्यालय तथा कलेजको व्यवस्थापन पाटो तौरतरिका मिलेको हुनुपर्छ । त्यसका लागि हेर्नुपर्ने विद्यालयको प्रवेशद्वारभित्र प्रवेश गरिसकेपछि पूर्ण बालमैत्री वातावरण छ वा छैन, शिक्षणसिकाइ क्रियाकलाप विद्यार्थीमैत्री छ वा छैन, विद्यालयभित्र रहेका स्रोत सामग्री विद्यार्थीमैत्री छन् वा छैनन् त्यो महत्त्वपूर्ण रहन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्मका अतिरिक्त क्रियाकलापमार्फत शिक्षणसिकाइ क्रियाकलाप गरिएको छ वा छैन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म अतिरिक्त क्रियाकलापमा विद्यार्थी सहभागी भएका छन् वा छैनन् ती विषयलाई बुझेर विद्यालयमा अध्ययन अध्यापन गराउन सक्ने दक्ष शिक्षक छन् वा छैनन् त्यो बुझ्नु जरुरी हुन्छ । विद्यालय व्यवस्थापन समिति, सक्रिय छ वा छैन ? विद्यार्थी, शिक्षक, अभिभावक अनि प्राचार्यबीचको सहकार्य राम्रो छ वा छैन ? शिक्षक  पेसाप्रति योग्य छन् वा छैनन् यी कुराहरुले विद्यार्थीको सिपमूलक सिकाइमा प्रभाव पारेको हुन्छ । 

विद्यालयमा शिक्षक कर्मचारी सन्तुष्ट छन् वा छैनन् त्यसको प्रभाव विद्यार्थीहरुलाई पर्दछ ।  विद्यार्थी तथा अभिभावकको गुनासो सुन्ने निकाय छ वा छैन, राखेका गुनासोलाई गम्भीर रुपमा लिन्छ कि लिदैन संस्थाले हेर्नु पर्छ । कति समयक्रममा विद्यालयमा कस्ता–कस्ता व्यक्तित्वद्वारा  कतिपटक शैक्षिक सुधारका कार्यक्रम तथा मनोपरामर्श सम्बन्धी विद्यार्थी अभिभावक, शिक्षकका लागि तालिम तथा गोष्ठीहरु दिइयो सबै बुझ्नपर्छ । 

तसर्थ अभिभावकले उच्च माध्यमिक तह कक्षा ११ मा आफ्ना बाबुनानीहरुलाई भर्ना गर्दा निम्न विशेषताहरु कागजमा नभई व्यवहारिक रुपमा लागु भएका छन् भने त्यस्तो विद्यालय छानेर अध्ययन स्थल छनोट गर्नुपर्छ । 

क) प्रशासक तथा शिक्षक पेसाप्रति पूर्ण दक्ष अनि बफादार भएको,
ख) विद्यालय विद्यार्थीमैत्री तथा अभिभावकमैत्री भएको,
ग) शिक्षणसिकाइ क्रियाकलाप विद्यार्थीमैत्री भएको,
घ) शैक्षिक सामग्रीको प्रयोग अनि भौतिक पूर्वाधार विद्यार्थीमैत्री भएको
ङ) स्थानीयस्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्मको सिकाइ गर्दै आएको, 
च) परियोजना (प्रोजेक्टवेश) मा आधारित सिकाइ भएको,
छ) शैक्षिक सामग्रीको रुपमा प्रविधिको प्रयोग गरिएको,
ज) अनुसन्धानमूलक शिक्षणसिकाइलाई प्राथमिकतामा राखेको,
झ) नेतृत्व तथा शिक्षक व्यवहारिक ज्ञानले दक्ष भएको,
ञ) अनुशासन तथा नैतिक शिक्षामा प्राथमिकता दिएको,
ट) शिक्षक तालिमयुक्त अनि विद्यार्थीमैत्री भएको,
ठ) शिक्षक तथा कर्मचारीको श्रमको उचित मूल्याङ्कन भएको
ड) व्यवस्थापन चुस्त र दुरुस्त भएको 
ढ) भौतिक संरचना, शैक्षिक सामग्री शिक्षण विधिको दीर्घकालीन गुरुयोजना भएको,
ण) धैर्य तथा सफल नेतृत्वद्वारा सञ्चालित,
त) शिक्षकभन्दा विद्यार्थीहरु शिक्षणसिकाइ क्रियाकलापमा सक्रिय गराउने,

उक्त कुराले निपुण रहेको विद्यालय छनोट गर्ने जिम्मा अभिभावक तपाँई अनि तपाँईका  बाबुनानीहरुलाई हुन्छ । कसैको क्षणिक प्रभावमा परेर अस्वस्थ प्रतिस्पर्धाको पछाडि नलाग्नु होस् । आफ्ना बाबुनानीहरुलाई अब कस्तो शिक्षाको आवश्यकता छ भन्ने राम्रोसँग बुझेर मात्र कक्षा एघारमा भर्ना गर्नुहोस् । यसका लागि आफ्ना बाबुनानीहरुलाई लिएर तपाईँ स्वयम् विद्यालय अवलोकन गर्न जानुहोस् । त्यहाँको वातावरण राम्रोसँग धैर्यता पूर्वक बुझ्ने समयसमेत लिएर जानुहोस् । विद्यालयभित्र गरिएका सम्पूर्ण गतिविधिलाई राम्रोसँग बुझ्नुहोस् । विद्यालयको हिजोका क्रियाकलाप अनि भावी रणनीतिलाई राम्रोसँग बुझ्नुहोस् । कसैको क्षणिक प्रभावमा परेर भावुक नहुनुहोस् । आफ्ना बाबुनानीहरुहरुको मनोभावना बुझेर उनको रुचिलाई सम्बोधन हुनेगरी राम्रोसँग बुझाइ उसलाई प्रेरित गर्ने कुरातर्फ मोड्नुहोस् । यो उमेरमा साथीसङ्गतको लहै–लहैमा लागेर गलत मार्ग तय गर्ने उमेर भएको हुँदा तपाँई उसलाई साथी सरहको व्यवहार गर्नुहोस् । संस्कार संस्कृतितिर आकर्षित गर्नुहोस् । आफूले भनेको मानेन भन्नुभन्दा पहिले उसलाई आफ्नो साथी बनाउनु होस् अनि मात्र तपाईँजस्तै ऊ भविष्यलाई चिन्ने बन्न सक्छ । संस्कारी अनि योग्य सन्तान बनेर आफै समुज्ज्वल भविष्य निर्दिष्ट गर्छ ।