भरतपुर अस्पतालमा आइपुग्यो एमआरआई मेसिन

२०८१ जेठ २३ बुधबार १४:५२:०० मा प्रकाशित

चितवन । भरतपुर अस्पतालमा एमआरआई मेसिन आएसँगै तीन साताभित्र जडान गरी सञ्चालन गर्ने तयारी गरिएको छ । ३० करोड लागतमा उक्त उपकरण अस्पताल ल्याइएको हो ।

अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा केशव पौडेलका अनुसार जर्मनीमा बनेको सिमेन्स कम्पनीको उक्त मेसिन अस्पताल ल्याइएको हो । ‘थ्री टेस्ला ६४ च्यानल’को उक्त उपकरण आधुनिक भएको भन्दै उहाँले मुटु, नसालगायत रोगको परीक्षणमा प्रभावकारी हुने बताउनुभयो । एमआरआई मेसिनबाट दैनिक २० वटासम्म रोगको परीक्षण गर्न सकिने उहाँको भनाइ छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार सबै सामग्री आइसकेकाले तीन साताभित्र सञ्चालनको तयारी भइरहेको छ । झन्डै १८ महिना पहिला सम्झौता गरेर अहिले उक्त उपकरण अस्पताल आइपुगेको उहाँले जानकारी दिनुभयो ।