शैक्षिक अवस्था सुधारमा लाग्यो मौलाकाली सामुदायिक सिकाइ केन्द्र

२०८१ जेठ १४ सोमबार १८:२४:०० मा प्रकाशित


गैँडाकोट । मौलाकाली सामुदायिक सिकाइ केन्द्रले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूकालागि अभिमुखीकरण गरिरहेको छ ।

सोमबार केन्द्रले गैँडाकोट १, २, ४ र ५ का विद्यालयहरू नवदुर्गा, नेराश, महेन्द्रस्मारक, जनक र सरस्वती विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, सदस्य, शिक्षक अभिभावकसंघका प्रतिनिधिहरूलाई सार्वजनिक शिक्षाको सुधारका लागि आ–आफ्ना भूमिका कसरी प्रभावकारी बनाउने सन्दर्भमा अभिमुखीकरण गरिएको केन्द्रका अध्यक्ष कमल पराजुलीले बताउनुभयो । 

सोमबार जनक माध्यामिक विद्यालयको सभाहलमा गरिएको अभिमुखीकरणमा गैँडाकोट नगर शिक्षा अधिकारी डा. बालकृष्ण चापागाईं र शिक्षाविद् गोपालप्रसाद भण्डारीले सरोकारवालालाई अभिमुखीकरण गर्नुभएको थियो ।

डा. चापागाईंले शिक्षक र विद्यार्थीबीचको सम्बन्ध, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको भूमिका,  विभिन्न तहका सरकारको भूमिकाका बारेमा प्रष्ट पार्नुभएको थियो । 

शिक्षाविद् गोपालप्रसाद भण्डारीले विद्यालयको संस्कृति, सिकाई उपलब्धीको अवस्था र गुणस्तरमा वर्तमान अवस्था, अवसर र चुनौतीका साथै अबको गन्तव्य कस्तो हुने सन्दर्भमा प्रष्ट पार्नुभएको थियो । 

केन्द्रले आइतबार गैँडाकोट ३ मा श्रीकृष्णगण्डकी, जनता, जनजागृति, मौलादेवी, मंगलादेवी र पञ्चकन्याका प्रतिनिधिहरुलाई अभिमुखीकरण गरेको थियो ।  केन्द्रले आगामी जेठ १६ गते विजय विकास स्रोत केन्द्रको सभाहलमा गैँडाकोट ६, ७ र ८ का विद्यालयहरुका लागि अभिमुखीकरण कार्यक्रम राखेको केन्द्रका अध्यक्ष कमल पराजुलीले बताउनुभयो । 

केन्द्रले अनौपचारिक प्रौढ विद्यालय सञ्चालन गर्दै आएको छ । केन्द्रमा अहिले पनि विभिन्न उमेरसमूहका ३५ जना अध्ययनरत रहेका छन् । विहान ११ बजेदेखि ३ बजेसम्म कक्षा सञ्चालन गर्ने गरेको छ ।

केन्द्रले अघिल्लो शैक्षिक सत्रमा साविक गँैडाकोटमा ६४ जना बालबालिका विद्यालयको पहुँचबाट टाढा रहेको प्रतिवेदन सार्वजनिक गर्दै सरोकारवालालाई झक्झकाएको थियो । यसका साथै महिलाहरुको आर्थिक सबलीकरणका लागि सीप विकासका विभिन्न कार्यक्रम पनि केन्द्रले गर्ने गरेको छ ।