देवचुलीको निर्णयले अमरापुरीबासी काकाकुल हुने जोखिम 

२०८१ बैशाख २६ बुधबार १६:२५:०० मा प्रकाशित


गैँडाकोट । देवचुली नगरपालिकाको निर्णयले गैँडाकोट नगरपालिकाको अमरापुरीबासी काकाकुल हुने जोखिम देखिएको छ । देवचुली नगरपालिकाले झराही खोलाको पानी २०० एमएमको ३४ सय मिटर पाइप विछ्याई सिँचाई गर्ने भनि प्रक्रिया अघि बढाउँदा मुहान सुक्ने जोखिम रहेको अमरापुरी खानेपानीका अध्यक्ष मनहरि सापकोटाले बताउनुभयो  । यही पानीको स्रोतमा अमरापुरी खानेपानीको पिउने पानीको आधार रहेको छ । गैँडाकोट नगरपालिकाको १४ देखि १७ सम्मका ४ वडाका २५ सय घरधुरीको खानेपानी प्रभावित हुने खानेपानीका अध्यक्ष सापकोटाले विजय एफएमलाई बताउनुभयो । 

वि. सं. २०३६ साल देखी पहिला बेल्डिहा खानेपानी र हाल अमरापुरी खानेपानी यस क्षेत्रको एक मात्र पिउने पानीको स्रोत हो । झराही खोलाबाट सिँचाईका लागि पानी तान्ने गरी देवचुली नगरपालिकाले निर्णय गरी टेण्डर आव्हान गरिसकेको छ ।  

प्राकृतिक सम्पत्तिमाथि दुबै पालिकाको समझदारी विना काम अघि बढाएको अमरापुरी खानेपानीले जनाएको छ । अमरापुरी खानेपानीले देवचुली नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाइसकेको छ । देवचुली नगरपालिकाका नगरप्रमुखको सचिवालयका सागर न्यौपानेले गैँडाकोटका नगरप्रमुख र देवचुली नगरप्रमुख दुबैसँग छलफल भइरहेको र सहमति नजिक रहेको बताउनुभयो । 

यता गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले अमरापुरी खानेपानीको मुहान सुक्नेगरि एकतर्फी रुपमा सिँचाईको काम अघि नबढाउन देवचुली नगरप्रमुख हरिप्रसाद न्यौपानेलाई अनुरोध गर्नुभएको छ । दुबै नगरप्रमुखको छलफलले सहमति पछि मात्र काम सुरु गर्ने वा नगर्ने भन्ने विषयमा सहमति बनेको नगरप्रमुख मदनभक्त अधिकारीले विजय एफएमलाई जानकारी दिनुभयो ।