कला र संस्कृतिको प्रवर्धनमा गामबेसी साँस्कृतिक कला केन्द्र

२०८१ बैशाख ८ शनिबार १५:१८:०० मा प्रकाशित

गैँडाकोट । गामबेसी साँस्कृतिक कला केन्द्र जिल्ला कार्य समिति नवलपुरले साँस्कृतिक बाजा संरक्षणकर्मीहरु नौमती बाजा बजाउनेहरुसँग परिचयात्मक एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नयाँ वर्ष २०८१ अवसरमा केन्द्रको कार्यालय गैँडाकोट ५ ओमशान्ति चोकमा भएको कार्यक्रममा प्रमुख अतिथि गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले साँस्कृतिक कलाको प्रवर्धनका लागि केन्द्रले ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गर्दै पुरानो कला र संस्कृती जोगाउन सबै जुट्नुपर्ने बताउनुभयो । ‘बचाऔँ हाम्रो प्रकृति–जोगाऔँ संस्कार, कला र संस्कृति’ भन्ने मर्मले सार्थकता पाओस भन्दै उहाँले कुसंस्कार हटाई सबैमा असल संस्कार स्थापित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । 

केन्द्रका सल्लाहकार संयोजक डि बि परियारले संस्कार संस्कृतिका नाममा कसैलाई विभेद गर्न नहुने बताउनुभयो । उहाँले राष्ट्रिय बाजा एवं अन्य जुनसुकै बाजा लोप हुन नदिन तर्फ सबैले उत्तिकै जोड दिनुपर्ने बताउनुभयो ।  

गामबेसी साँस्कृतिक कला केन्द्रका अध्यक्ष कमलबहादुर कुँवरले केन्द्रको मार्फत गैँडाकोटमा संस्कृतिको जगेर्ना गर्न निरन्तर लागिरहने बताउनुभयो । उहाँले नौमती बाजा बजाउनेहरुसँगको परिचयात्मक एवं दुःख सुख साटासाट गर्नाले आगामी दिनमा थप साँस्कृतिक क्षेत्रमा गर्नुपर्ने काम पहिचान हुने भएकोले पनि यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।   

कार्यक्रममा केन्द्रका सल्लाहकार मिनबहादुर अधिकारी, प्रेम पोख्रेल, गैँडाकोटमा रहेका नौमती तथा पञ्चे बाजा समूह, मठ मन्दिर गुम्बाका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा साँस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो । 

गामबेसी साँस्कृतिक कला केन्द्रका सचिव कृष्ण सापकोटाले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । 

यसअघि केन्द्रले २५ वर्ष कटेका विवाहित गैँडाकोट ५ नम्बर वडामा रहेको महिला समूहहरुको अन्तर टोल स्तरीय महिला समूह कबडडी प्रतियोगिता, मठ मन्दिरमा सरसफाई, देउसी भैलो लगायत संस्कार, कला र संस्कृतिको प्रवद्र्धनका लागि विभिन्न क्रियाकलाप गर्दै आएको छ ।