गैँडाकोटको भर्गो कृषि सहकारी खारेज 

२०८० माघ २० शनिबार १८:१०:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटको भर्गो कृषि सहकारी संस्था लिमिटेड खारेज गरिएको छ ।

गैंडाकोट नगरपालिका वडा नं १४ अमरापुरीमा २०७८ सालमा सहकारीको स्थापना भएको थियो । पुष्पराज सापकोटाको अध्यक्षतामा गठित सहकारी दर्ता गरिएपनि सहकारी सम्बन्धि विवरण नगरपालिका पेस नगरेको, कार्यालयको बोर्ड समेत नभएको, पटक–पटक सम्पर्क गर्न खोजेपनि अध्यक्ष, सञ्चालक, व्यवस्थापक सम्पर्कमा नआएको र सहकारी संस्था संचालनमै नआएको भन्ने ठहर भएपछि संस्था खारेज गरिएको प्रमुख प्रशासकीय अधिकत झविन्द्र खनालले जानकारी दिनुभयो । 

सहकारीको मुल्य, मान्यता, सिद्धान्त अनुरुप संस्था सञ्चालनको कुनै गतिविधि नगरेको हुँदा सहकारी ऐन, २०७४ को दफा ८८ को उपदफा ३ र ४ तथा गैँडाकोट नगरपालिका सहकारी ऐन, २०७९ को दफा ६६ को उपदफा ३ (क) र कार्यालयको बिहीबारको निर्णय अनुसार भर्गो कृषि सहकारी संस्था खारेज गरिएको सहकारी हेर्दै आउनुभएका आर्थिक विकास शाखा प्रमुद देवेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँले उक्त सहकारी संस्थाको दर्ता प्रमाणपत्र तथा विनियम यस कार्यालयमा यथाशिघ्र फिर्ता बुझाउन र सो भर्गो कृषि सहकारी संस्था लिमिटेडको नाममा कोहि कसैले कुनैपनि व्यवहार÷कारोवार नगर्न नगराउनुहुन सम्वन्धित सबैमा सूचना जारी गरिएको बताउनुभयो ।