गैँडा बन्यो कृषकलाई अभिशाप

२०८० मङ्सिर ५ मंगलबार १६:०२:०० मा प्रकाशित

गैँडाकोट । “गैँडाले क्षति नपु¥याएको भए एक लाख बढी आम्दानी हुने थियो ।” भक्कानिदैँ गैँडाकोट ८ का ६७ वर्षिय गोपाल आचार्यले भन्नुभयो । विदेश जान आँटेको छोरालाई रोकेर स्वदेशमा नै केही गर्नुपर्छ भनेर मकै खेती गर्नुभएका आचार्यको मन सम्हालि नसक्नु छ । 

गैँडाकोट ६ मा करिब पाँच कट्ठा क्षेत्रफलमा ३० हजार बढी खर्च गरेर उहाँले मकै लगाउनुभएको थियो । “यो हेरर अब को किन्न आउँछ” उहाँले दुखेसो पोख्नुभयो । यहाँ २ कट्ठा बढी क्षेत्रफलको मकै बाली खानुका साथै नष्ट गरेको छ । “एउटा केटो र दुई वयस्क गैँडाले दाँइ खेलेर सखाप पारे ।” उहाँले मन सम्हाल्न सक्नुभएन, भक्कानिनुभयो । बलिन्द्र आँसु झार्दै उहाँले भन्नुभयो, “यस्तो भएपछि कसरी गर्ने ?” अझै केही जोगाउन सकिन्छ की भनेर तिहारमा लगाएको झिलिमिलि बत्ति उहाँले खेतभरी टाँग्नुभएको छ । 

“छोराले विदेश जान रोकेको भनेर गाली गर्छ, धान छोडेर मकै लगाए, यो विधि भयो, अब मेसो लगाएको छ, कुन्दिन सबै खाइदिन्छ ।” उहाँले पिडा पोख्नुभयो । शनिबारको यो घटना पछि रात उहाँका सहज बितेका छैनन् । मन बरालिन्छ । घर भन्दा खेत टाढा छ । रातको समयमा जान सक्ने कुरा भएन । ‘हे भगवान आज नखाइदिए हुन्थ्यो’ भन्नु सिवाय अर्को विकल्प छैन ।

वर्षेनी यस वरपरका वस्तीका कृषकको पिडा हो यो । थन्काउने बेलाको बाली गैँडा, मृग, बँदेल लगायतका जङ्गली जनावरले नष्ट गर्ने गरेको छ । आचार्यको करिब ७० हजार बराबरको मकै क्षति भएको आँकलन गरिएको छ । गैँडाकोट ६ र ७ मा अत्यधिक मकै उत्पादन हुने गर्दछ । दिनहुँ गैँडा बस्ती पस्न थालेपछि स्थानीय रुष्ट छन् । यो सिजनमा मकै प्रति घोँगा १५ रुपैयाँ सम्म बारीबाट नै बिक्रि हुने गर्छ । सेतो प्लाष्टिक लगाएर यहाँका कृषकले बाली रोक्ने प्रयास गरेपनि जोगाउन सकिएको छैन ।  

गैँडाकोट ६ का प्रेम प्रसाद सापकोटाले ६ कट्ठामा मकै लगाएका छन् । दुई वर्ष अघि मकै क्षति बेहोर्नुभएका उहाँले अहिले मन अतालिएको बताउनुभयो । “कुन दिन आएर खाने हो डर लागिरहेको छ ।” उहाँले भन्नुभयो । सापकोटाले नगरपालिकाले यहाँ १० लाख खर्च ग¥यो भने कृषकको १ करोड बचाउन सकिने तर्क गर्नुभयो । “तटबन्धनका कारण दुरी छोटिएको छ, छेकबारका लागि तार लगाउन वडाअध्यक्ष, नगर प्रमुखले देखाएको तदारुकताले आश लागेको छ ।” उहाँले थप्नुभयो । 

गैँडाकोट ६ गैरीका विष्णु कँडेलले करिब १० कट्ठामा लगाएको मकै पसाउन थालेको छ । कँडेलले भन्नुभयो, “मकै पकेट क्षेत्र भनेर भनियो तर दुई पैसा आम्दानी होला भन्ने बेलामा गैँडा, चित्रि, बँदेलले खाईदिन्छ, त्यस्को रोकथाम गर्ने काम गरिएन, कृषिबाट बाच्नै गाह्रो भयो ।” पछिल्ला पाँचवर्षदेखी हैरानी ब्यहोर्नु परेको उहाँको भनाई छ ।     

चितवन राष्ट्रिय निकुञ्जको ज्ञानेश्वर ब्लक हुँदै गैँडा नारायणी नदी तरेर गैँडाकोट सम्म आउने गरेको छ । वर्षेनी यहाँ नारायणी तटका बासिन्दा गैँडाका कारण हैरानी खेप्नुपरेको बताउँछन् । गैँडाकोट नगरपालिकाले गैँडा लगायतका बन्यजन्तु रोकथामको प्रयास गरेपनि सफल हुन सकेको छैन । पसाएर बेच्ने अवस्थामा रहेको मकै गैँडाले क्षति पुराएपछि स्थानीयले गैँडा नियन्त्रण तथा रोकथामको माग गरेका छन् । 

निरन्तर गैँडा लगायतका जनावरले दुःख दिन थालेपछि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी, प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल, गैँडाकोट ६ का वडा अध्यक्ष शुभाष चापागाईं, कृषि शाखा प्रमुख राजु शर्मा लगायतको प्राविधिक टोलीले क्षति भएको स्थानको अवलोकन गरेका छन् । अवलोकन पश्चात नगर प्रमुखले गैँडा नियन्त्रणका लागि तुरुन्तै तारबार गर्ने आश्वासन दिनुभएको छ । सो का लागि प्राविधिक टोली समेत खटाइएको उहाँले बताउनुभयो । 

गैँडाकोट ६ का वडा अध्यक्ष शुभाष चापागाईंले यो विगत देखीको नै समस्या रहेको बताउनुभयो । उहाँले हात्ती ल्याएर गैँडा लखेटेको स्मरण गराउनुभयो । तत्काल गैँडाकोट ६ र ७ को सिमाना सिर्जनशिल टोलमा तारबारको काम सुरु गर्ने उहाँले बताउनुभयो । प्राविधिकले नाप जाँच गरेर स्टिमेट तयार गरेपछी काम सुरु गरिने बताउनुभयो । अघिल्ला जनप्रतिनिधिले प्रदेश तथा संघीय मन्त्रालयमा तारबारका लागि माग गरेपनि काम सुरु हुन नसकेको उहाँको भनाई छ । 

नारायणी नदी किनारमा तटबन्धन र सडक उकास सहितको कार्य अघि बढेका कारण गैँडा नियन्त्रण हुने उहाँको विश्वास छ । १ अर्ब ९ करोड बराबरको यहाँ तटबन्धनको काम समेत चलिरहेको अवस्थामा तटबन्धन वापतको रकम भुक्तानी नभएकोले काम रोकिएको निर्माण पक्षले बताएका छन् । 

गैँडा मात्रै नियन्त्रण गर्ने हो भने, ठूलो क्षति टर्ने थियो । स्थानीयलाई राहत मिल्ने थियो ।