छठ पर्वका लागि सजाइयाे घाट

२०८० मङ्सिर २ शनिबार १७:३८:०० मा प्रकाशित

काठमाण्डौ – तराई मधेशमा निकै महत्त्वका साथ मनाइने धार्मिक एवम् आस्थाको पर्व छठ विधिवत् रूपमा शुरु भएको छ । छठ पर्व मनाउनको लागि तराई मधेशमा मात्र नभएर देशका विभिन्न ठाउँमा पोखरी तथा घाटहरु सजाएर झकिझकाउ बनाइएको छ ।

तराई मधेशमा उल्लासका साथ मनाइने यो पर्वमा परिवारका सबै सदस्यलाई नयाँ कपडा लाउने र मीठो परिकार खाने गरिन्छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि तराई मधेशमा धुमधामसँग मनाइने छठ पर्व पछिल्ला दिनहरुमा देशैभरि मनाउन थालिएको छ । छठ मनाउन यतिबेला तराईका गाउँसहरमा रहेका पोखरी, नदी, तलाउ जस्ता जलाशयको सरसफाइ गर्ने, सिङ्गार्ने, क्रम शुरु भइसकेको छ ।

छठका लागि पूजा सामग्री किन्ने श्रद्धालुको भिड पनि बढेको छ । श्रद्धापूर्वक मनाइने छठका लागि पूजाका सामग्रीमा ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपाडीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ वर्तालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायतका सामग्री किन्न बजारमा घुइँचो लागेको हो ।

भोलि आइतवार अस्ताउँदो सूर्यलाई र पर्सि सोमवार उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्व विधिवत् रूपमा सम्पन्न हुन्छ ।