नवलपुरमा सबैभन्दा बढि गैँडाकोटमा कुष्ठरोगी

२०७९ माघ १४ शनिबार १७:३२:०० मा प्रकाशित

गैँडाकोट । नवलपुरमा यसवर्ष ९ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । नेपालमा १३ वर्षअघि नै कुष्ठरोग निवारण भएको घोषणा भए पनि नयाँ बिरामी देखिने गरेका छन् । 

नवलपुरमा यसवर्ष २ महिला सहित ९ जना नयाँ बिरामी फेला परेको स्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्निसियन निरीक्षक डिल्ली राम तिवारीले जानकारी दिनुभयो । नवलपुरमा अघिल्लो वर्ष १४ जना नयाँ बिरामी फेला परेका थिए । 

तिवारीका अनुसार अघिल्लो वर्षका समेत गरी यस आर्थिक वर्षको पुष मसान्त सम्म उपचारमा रहेका २८ कुष्ठरोगीहरुमध्ये ९ जना नयाँ हुन् । जसमध्ये ६ महिला र ६ पुरुष गरी १२ जना निको पनि भएका छन् । अन्यले भने निरन्तर औषधी सेवन गर्दै आएका छन् । 

नवलपुरका ६ वटा पालिकामा भेटिएका कुष्ठरोगी मध्ये सबैभन्दा बढि गैँडाकोटका रहेका छन् । गैँडाकोटमा ६ महिला सहित १२ जना कुष्ठरोगका बिरामी रहेको गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।  

त्यस्तै हुप्सेकोटका एक पुरुष, विनयी त्रिवेणीमा २ महिला सहित ३ जना, मध्यविन्दुमा १ पुरुष, देवचुलीमा ३ महिला सहित ६ जना र कावासोतीमा २ महिला सहित ५ जना रहेका छन् । 

कुष्ठ रोग एक प्रकारको सरुवा रोग मध्ये कम सर्ने रोग मध्ये एक रहेको समेत स्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्निसियन निरीक्षक डिल्ली राम तिवारीले बताउनुभयो । कुष्ठरोग लागेका सबै व्यक्तिबाट अरुलाई यो रोग सर्दैन । यो रोग उपचार शुरु नगरेका कुष्ठरोगका बिरामीबाट मात्र अरुलाई सर्न सक्दछ । उहाँका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने गर्दछ । यो रोगले खास गरेर छाला र नसामा असर गर्दछ । समयमै कुष्ठरोगको उपचार हुन नसके अपाङ्गता हुने र ज्यानसमेत गुमाउन सक्ने जोखिम हुन्छ । त्यसैले बेलैमा उपचार गर्न र रोग नलुकाउन उहाँले आग्रह गर्नुभयो । 

उहाँका अनुसार यो रोग लागेका बिरामीहरुमा छालामा रातो फुस्रो दाग देखा पर्ने, नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, कानको लोती बाक्लो हुने, आँखी भौँहरु झरेमा, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने हुन्छ । लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य कार्यकर्तालाई देखाइ बेलैमा नियमित उपचार गराएमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरूपले निको हुन्छ । 

छालाको स्मेयर जाँच गर्दा कुष्ठरोगको कीटाणु देखा परेमा बहु औषधी उपचार पद्धती अनुरुप उपचार गर्ने गरिन्छ । ६ महिनादेखी १२ महिनासम्म अवस्था हेरी औषधी सेवन गरे कुष्ठरोग पूर्णरूपले निको हुने उहाँले बताउनुभयो । 

यसैबीच आईतबार ७० औं विश्व कुष्ठरोग दिवस मनाईदैँछ । यस वर्ष “कुष्ठरोग अन्त्यका लागि पहल गरौं” भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाउन लागिएको हो । २९ जनवरीलाई विश्व कुष्ठरोग दिवसका रुपमा मनाउने गरिन्छ । कुष्ठरोग मुक्त नेपाल बनाउने लक्ष्यका साथ हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । 

कुष्ठरोगको फैलावटलाई अवरुद्ध गरेर जिल्ला र स्थानीय तहमा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिइएको छ । स्थानीय तहमा लगातार पाँच वर्षसम्म १५ वर्ष मुनिका बालबालिकामा कुष्ठरोगका स्थानीय नयाँ बिरामीहरु शून्य रहनुलाई त्यस स्थानीय तहमा कुष्ठरोग फैलावट अवरुद्ध भएको भनेर परिभाषित गरिएको छ ।