उद्योगधन्दा बन्द गर्नुपर्ने अवस्था आयो, कर–ब्याज बुझाउन सकिन्न ः चितवनका उद्योगी–व्यवसायी 

२०७९ मङ्सिर १८ आइतबार १६:३२:०० मा प्रकाशित


चितवन उद्योग संघले अर्थतन्त्रलाई चलायमान बनाउन र विद्यमान तरलताको समस्या समाधानका लागि कुनै ठोस कदम नचालिँदा उद्योगी, व्यवसायीहरू कर तिर्न नसक्ने अवस्थामा पुगेको जनाएको छ। उद्योग, व्यवसाय धरासयी बन्दै जाँदा नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले अर्थतन्त्रलाई थप समस्या पारेको भन्दै संघले अहिलेकै अवस्थामा उद्योगी, व्यवसायीहरूले पुस मसान्तमा कर नबुझाउने चेतावनी दिएको छ।

आइतबार पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष त्रिलोचन कंडेलले बैंक ब्याजदरमा भएको अचाक्ली वृद्धिका कारण उत्पादन लागत अत्याधिक बढ्न गई अधिकांश उद्योगहरू बन्द हुने अवस्थामा पुगेको बताउनुभयो।

संघका पूर्वअध्यक्ष राजु पौडेलले राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन र कर्जा किस्ता तथा ब्याज उठौतीका लागि उद्योगीलाई मानसिक तनाव दिनेगरी बैंकहरूले गरेको ताकेताले उद्योगीहरू हतोत्साहित भएको बताउनुभयो। उहाँले उद्योगलाई जीवन्त राख्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन गर्न, ब्याजदर एक अंकमा सीमित गर्न, उद्योगमा रहेको कर्जालाई उद्योगीले आवश्यकता महसुस गरेमा एक पटकका लागि पुनर्संरचना, पुनर्तालिकीकरण गर्न, पुस मसान्तसम्मको ब्याजलाई पुँजीकरण गर्न तथा पुनर्कर्जाको सुविधालाई निरन्तरता दिन राष्ट्र बैंकसँग माग गर्नुभएको छ। उद्योग संघले मागहरू नेपाल राष्ट्र बैंकलाई जानकारी गराउने र यथाशीघ्र सम्बोधन नभए कर नबुझाउने निर्णय गरेको अध्यक्ष कंडेलले बताउनुभयो।

उद्योग संघ चितवनका पूर्वअध्यक्ष राजु पौडेलकाअनुसार अर्थतन्त्रमा आएको समस्याका कारण देशभरमा २० प्रतिशत घरेलु तथा साना उद्योगहरू बन्द भएका छन्। १७ लाख जनाले रोजगारी गुमाएको उहाँले बताउनुभयो । चितवनका पचास प्रतिशत घरेलु तथा साना उद्योगहरू प्रभावित भएको उहाँले बताउनुभयो ।